एकताको सन्देश दिँदै सचिनको ए मान्छे

काठमाडौं । पुराना गायक सचिन रौनियारले १२ वर्षपछि ‘ए मान्छे’ बोलको भिडियो दर्शकमाझ ल्याएका छन् । वर्तमान देशको समसामयिक परिस्थितिसँग मिल्दोजुल्दो गीतले एकताको सन्देश दिएको छ ।

गीतमा प्रकाश सापकोटाको शब्द तथा जितेन लेप्चाको संगीत छ । गीतमा सचिनसँगै सञ्जय श्रेष्ठ, बबिन प्रधान, भीम तुलाधर तथा जातिगत भेषभूषामा सजिएका कोरस फिचरिङ छन् । सुब्रतराज आचार्यको निर्देशन रहेको भिडियोमा गम्भीर बिष्टको कोरियोग्राफी, उत्सव दाहाल र विजय बस्नेतको छायांकन तथा भरत रेग्मीको सम्पादन छ ।  गायक सचिनले १७ गीतको रेकर्ड गराइसकेपछि ‘ए मान्छे’ जन्मिएको बताए । ‘पप लोक फ्युजन शैलीको यो गीत तयार पार्न मलाई ९ महिना लाग्यो,’उनले भने ।

२०४३ सालमा पहिलो एल्बम ‘सर्च’ बजारमा ल्याएका सचिनले सांगीतिक करियरमा १२ एल्बम बजारमा ल्याइसकेका छन् । उनले गाएका ‘छ भनौ कि छैन भनौ’, ‘यो वनमा छैन क्यारे न्याउली कराउदिन ए कान्छी’, ‘ए माया कहाँ छौ कहाँ’, ‘झन् झन् बढ्यो याद तिम्रो’, ‘आफ्नो मान्छे’लगायतका गीत रुचाइएका गीतमा पर्दछन् ।