पिरिममा परे निश्चल–प्रियंका

काठमाडौं । आगामी माघ ४ गतेबाट रिलिज हुने फिल्म ‘गुरुड पुराण’को पहिलो गीत ‘म त पिरिममा’ सार्वजनिक भएको छ । गीतमा अभिनेता तथा निर्देशक निश्चल बस्नेतसँगै कलाकार कर्मा, नायिका प्रियंका सिंह ठकुरी र मोडल अञ्जली योञ्जनले फिचरिङ गरेका छन् ।

गीतमा रेनाशा वान्तवा राईको कोरियोग्राफी, कोशिस क्षेत्रीको संगीत, दिनेश राउतको शब्द तथा कोशिस र मनिषा पोखरेलको स्वर छ । पारिवारिक प्रेमकथामा आधारित फिल्ममा सुवास कोइरालाको निर्देशन छ । आकाश बराल, विनोद खतिवडा र सुवास आफैंले पटकथा सम्बाद लेखेको यो फिल्मको कथा कसम नेपालको हो ।

फिल्ममा प्रियँकासँगै नाजिर हुसेन, कर्मा शाक्य, कामेश्वर चौरसिया, प्रविण खतिवडासहित विभिन्न कलाकारको अभिनय समेटिएको छ । निर्माताको रुपमा अजित प्रजापति र अशोक गौतम रहेका छन् । सुसन प्रजापतिको छायांकन रहेको यो चलचित्रलाई उज्ज्वल ढकालले सम्पादन गरेका छन् ।