‘विक्रमको पारिश्रमिक व्यावसायिक गायक सरह’

काठमाडौं । नेपाल आइडलको दोस्रो संस्करणमा उत्कृष्ट ७ भित्र परेका गायक विक्रम बराललाई फिल्म ‘प्रसाद’ निर्माण पक्षले राम्रो पारिश्रमिक दिएर एक गीत रेकर्ड गराएको छ । मंसिर २१ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्मको एक गीतलाई गत बिहिबार काठमाडौंको नक्सालमा रेकर्ड गराएको हो ।

फिल्मको चर्चित गीत ‘लै लै’का संगीतकार सुवास भुषालको शब्द तथा संगीत रहेको गीत फिल्ममा प्लेव्याक म्युजिकको रुपमा प्रयोग गरिने छ । ‘हाम्रो टिमले योे गीत पहिले नै कम्पोज गरेको थियो तर प्लेब्याकमा गीत प्रयोग हुने भएकोले पनि गीत रिलिजको संघारमा रेकर्ड गरेका हौं ।’ दिनेशले भने । उनका अनुसार फिल्म रिलिजपछि मात्र गीत रिलिज गरिनेछ ।

‘प्रसाद’का निर्माता सुवास थापाले विक्रम बराललाई एउटा प्रोफेसनल गायक बराबर पारिश्रमिक दिएको बताए । ‘विक्रमले पाएको पारिश्रमिक एउटा व्यावसायिक गायकले पाउने पारिश्रमिक सरह छ । त्यसमा कुनै शंका मान्नु पर्दैन ।’ निर्माता थापाले भने ।

निःसन्तान दम्पत्तीको कथामा निर्माण भएको फिल्मको कथा, पटकथा तथा संवाद रंगपत्रकार सुशील पौडेलले लेखेका हुन् । फिल्ममा नम्रता श्रेष्ठ, विपिन कार्की, निश्चल बस्नेत लगायतका कलाकारको अभिनय रहेको छ ।