जिब्रोप्रेमी समर लभका आशिष

काठमाडौं । लेखक सुबिन भट्टराईको चर्चित पुस्तक ‘समर लभ’ को टिजर सार्वजनिक भएको छ । प्रेममय संवादले भरिपूर्ण टिजरमा फिल्मका प्रमुख दुई कलाकार आशिष पिया र रेवती क्षेत्रीको प्रेम र विछोडलाई देखाइएको छ ।

फिल्ममा सुरज सिंह ठकुरी, नम्रता सापकोटा, आशिष पिया र रेवती क्षेत्री प्रमुख भूमिकामा छन् । फिल्मबाट आशिष र रेवतीले डेब्यु गरेका हुन् । टिजरको एक दृश्यमा जिब्रो मनपराउने आशिषले आफूलाई रेवतीले राँगाको जिब्रो भनेपछि त्यो मननपर्ने बताएका छन् ।

मुस्कान ढकालले निर्देशन गरेको फिल्ममा पत्रकार सामिप्यराज तिमल्सिनाको पटकथा तथा सुविन र सामिप्यको संवाद छ । नाइटिंगेल इन्टरटेनमेन्टको ब्यानरमा निर्माण गरिएको फिल्ममा खगेन्द्र श्रेष्ठ र इन्दु भण्डारी निर्माता रहेका छन् । विनोद अधिकारी कार्यकारी निर्माता रहेको फिल्ममा स्वपन सरकार र मनोज बिक सह– निर्माता छन् । सञ्जय लामाको छायांकन र पुष्पन प्रधानको संगीत रहेको फिल्म माघ २५ गते रिलिज हुँदैछ ।