‘निश्चल चिनाउने फिल्म प्रसाद हुनेछ’

काठमाडौं । अभिनेताद्वय विपिन कार्की र निश्चल बस्नेत तथा नायिका नम्रता श्रेष्ठ अभिनित फिल्म ‘प्रसाद’ आगामी शुक्रबार अर्थात मंसिर २१ गतेबाट अल नेपाल रिलिज हुँदैछ । निसन्तान दम्पतीको कथा समेटिएको फिल्मले यो दम्पतीको जीवनमा नयाँ पात्रको प्रवेश पछि आउने उतारचढावलाई देखाइएको छ ।

फिल्ममा नयाँ पात्रका रुपमा निश्चल देखिँदैछन् । अधिकांश फिल्ममा आफूलाई लाइट आर्टिष्टका रुपमा प्रस्तुत गर्दै आएका निश्चल यो फिल्ममा अन्य फिल्मको भन्दा फरक देखिने उनको दाबी छ । ‘अहिलेसम्म मैले जति पनि फिल्ममा अभिनय गरें । ती फिल्म भन्दा प्रसादमा मेरो चरित्र एकदमै फरक छ,’निश्चलले भने,‘मैले राम्रोसँग काम गरेको रहेछु भने निश्चल चिनाउने फिल्म प्रसाद हुनेछ ।’

आफूलाई निर्देशक दिनेश राउतले सामान्य बन्न आग्रह गरेको सुनाउँदै निश्चलले त्यही अनुसारको भूमिका फिल्ममा राखिएको बताए । ‘प्रसादमा एउटा फरक निश्चललाई दर्शकले हेर्न पाउनुहुनेछ ।’ उनले भने । फिल्ममा सुवास थापाको लगानी छ । यो फिल्म युरोपका विभिन्न ११ मुलुकमा पनि प्रदर्शन हुँदैछ ।