कसको दाउमा पर्लिन् वर्षा

काठमाडौं । आगामी पुष २७ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘चौका दाउ’ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा चार जुवाडे रवीन्द्र झा, विल्सन बिक्रम राई, तैयब शाह र सन्तोष पन्तलाई उर्वर्सी बनेकी वर्षा राउतको पछि लागेको रोचक दृष्यहरु देख्न पाईन्छ ।  साँढे दुई मिनटको ट्रेलरले दर्शकलाई हँसाउँछ । ट्रेलरबाटै यो फिल्म हास्य प्रधान भएको प्रष्टिन्छ । ट्रेलरलाई ओएसआर डिजिटलबाट रिलिज गरिएको हो ।

चौका दाउका परिकल्पनाकार एवम् बरिष्ट संगीतकार शम्भुजीत बासकोटाले साँढे चार दशकदेखि आफु चलचित्र एवम् संगीत क्षेत्रमा रहेको र यसलाई निरन्तरता दिन चौका दाउ निर्माण गरेको बताए । चौका दाउ हास्यप्रधान सामाजिक चलचित्र भएको र एकता दिवसको दिन २७ पुषमा रिलिज गर्न लागेको परिकल्पनाकार बासकोटाले बताए । यो चलचित्रमा कथा, संगीत र गायन पनि बासकोटाकै रहेको छ ।

मनोज राजभण्डारी र सौर्यजीत बासकोटाले निर्माण गरेको चौका दाउलाई पूर्णेन्दु झाले निर्देशन गरेका हुन् । यस अघि राजनीतिक चलचित्र संरक्षण निर्देशन गरेका झाले यसपटक यो हास्यप्रधान चलचित्रलाई राम्रो बनाउन पुरा मेहनत गरेको बताए ।  नरेश भट्टराईद्धारा सञ्चालित ट्रेलर रिलिज कार्यक्रममा हास्य अभिनेता रविन्द्र झाले आफुहरुले चौका दाउबाट दर्शकलाई भरपुर मनोरञ्जन दिन कुनै कसर बाँकी नराखेको बताए ।

अर्का अभिनेता तैयव शाहले दुई दशकपछि फिल्ममा फर्किएको र राम्रो सिनेमामा काम गर्ने अबसर पाएको छु भने । हास्य अभिनेता निर्मल शर्माले पनि चौका दाउ स्तरीय फिल्म बनेको जिकिर गरे । योग गुरु डा. विकाशानन्दले त चौका दाउ चल्ने विश्वास व्यक्त गरे । सिनेमाले दर्शकलाई पूर्ण मनोरञ्जन दिने उनको कथन थियो ।  चौका दाउमा वर्षा राउत, रविन्द्र झा, अजश्र ढुँगाना, सन्तोष पन्त, तैयव शाह, विल्सन विक्रम राई, निर्मल शर्मा, सोनिका केसी, सुनिता श्रेष्ठ ठाकुर, रोशनी सापको, श्याम राईलगायतको अभिनय छ ।