मारुनीमा दुई मारुनीसँग एक्लो पुष्प

काठमाडौं । पाँच वर्षपछि फिल्म निर्माणमा आएकी निर्मात्री पुनम क्षेत्री गौतमले नयाँ फिल्म ‘मारुनी’को घोषणा गरेकी छन् । दुई सुन्दर युवतीको कथा रहने फिल्ममा पुष्प खड्काले दुई सुन्दरी नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र रेबिका गुरुङसँग रोमान्स गर्नेछन् । पुनमले पाँच वर्ष अघि फिल्म ‘अझै पनि’ निर्माण गरेकी थिइन् ।

मंगलबार साँझ कलाकारलाई ¥याम्पमा हिडाउँदै फिल्मको घोषणा गरिएको थियो । फिल्मका बाँकी कलाकार तथा प्राविधकले पनि ¥याम्पमै क्याटवाक गर्दै आफ्नो परिचय दिएका थिए । निर्मात्री पुनमले तीन वर्षदेखि आफू राम्रो कथाको खोजीमा रहँदा निर्देशक नवल नेपालले ‘मारुनी’को कथा लिएर आएपछि आफूले खोजेकै कथा पाएको बताइन् ।

निर्माण टिमले मंगलबार नै दिएको जानकारी अनुसार फिल्म माघ दोस्रो साताबाट फ्लोरमा जानेछ । घोषणा कार्यक्रममा बोल्दै निर्देशक नवल नेपालले फिल्मले दुई सुन्दरीको कथा प्रस्तुत गर्ने बताए । कवितात्मक शैलीमा बोलेका निर्देशक नेपालले फिल्म राम्रो बन्नलाई कथा नै राम्रो हुनुपर्ने र मारुनीको कथा सशक्त रहेको दाबी गरे । ‘जबसम्म कथाले मुटु छुदैन, मुटु दुख्दैन या मुटु हाँस्दैन भने तपाई ब्रह्माण्डबाट जे सुकै ल्याउनुस् त्यो फिल्म सफल हुँदैन’, फिल्म राम्रो हुन कथा महत्वपूर्ण हुने उल्लेख गर्दै निर्देशक नेपालले भने, ‘मारुनी’ लाई उत्कृष्ट बनाउन कुनै कसर बाँकी राख्ने छैनौं ।’

अभिनेत्री साम्राज्ञीले पनि फिल्मलाई लिएर उत्साहित भएको प्रतिक्रिया दिएकी थिइन् । उनको भनाइ थियो, ‘यो फिल्मको कथा साँच्चिकै युनिक छ । फिल्मको कथा नै थियो जसले मलाई यो फिल्म गर्न बाध्य बनायो । यो फिल्मलाई लिएर एकदमै उत्साहित छु ।’फिल्ममा सबैभन्दा पहिले अनुबन्ध भएका पुष्पले यही फिल्मका लागि लामो समयदेखि मेहनत गरिरहेका छन् । रेबिकाको भने यो डेब्यु फिल्म हो ।

पुनम इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने फिल्ममा निर्माता पुनमलाई अजय पोखरेल र राजा प्रधानले लगानीमा सघाएका छन् । हरि सिलवाल फिल्मको लाइन प्रोड्युसरको रुपमा रहेका छन् । फिल्ममा सुनिशा क्षेत्री, अरुण राज, आयुष प्रधान, शंखर सेढाइलगायतका कलाकारहरुको पनि अभिनय रहनेछ । सायरा आचार्य, आभाष सिंह, स्वर्णिम पौडेल र सौर्य अधिकारी बाल कलाकारको रुपमा रहेका छन् । सञ्जय लामाको छायांकन रहने फिल्ममा अर्जुन पोखरेल र कृष्ण काफ्लेको संगीत रहेको छ ।