निखिलको आचार्यलाई शनिबार उच्च शो

काठमाडौं । निखिल उप्रेतीको होम प्रोडक्सनमा निर्माण तथा निर्देशन भएको फिल्म ‘आचार्य’ले शनिबार उच्च शो पाएको छ । हिजो शुक्रबारबाट शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्मले शुक्रबार भन्दा शनिबार उच्च शो पाएको हो ।

देशभरको बुकिङ प्लेटफर्म खल्तीमा मात्रै ९६ शो उपलब्ध छन् । खल्तीमा समावेश नभएका सिंगल थिएटर तथा अन्य हलहरूमा समेत ५० भन्दा बढी शो रहेको निर्माण पक्षले जनाएको छ । यसअनुसार देशभर झन्डै १५० भन्दा बढी शोसहित फिल्म प्रदर्शन भइरहेको छ ।

शुक्रबार देशभर वर्षाका कारण जनजीवन प्रभावित भए पनि काठमाडौंसहित देशभरका हलमा फिल्मले औसत अकुपेन्सी राखेको थियो । राजधानीबाहिरका दुई दर्जनभन्दा बढी हलमा भने फिल्मको शो हाउसफुल भएको निर्माण पक्षले जनाएको छ ।

अभिनेता तथा निर्देशक निखिल उप्रेतीले व्यापारभन्दा पनि प्रतिकूल मौसमका बीच दर्शक हलसम्म पुगिदिनुलाई ठूलो माया भएको बताए । मौसममा सुधार आएसँगै देशभरका दर्शकलाई एकपटक फिल्म हेरेर आफ्नो मनको प्रतिक्रिया दिन निखिलले आग्रह गरेका छन् ।