दुई वर्षमा सञ्जयका ६ फिल्म

मुम्बई(एजेन्सी) । बलिउडका ‘मुन्ना भाई’ अर्थात सञ्जय दत्तका फ्यानका लागि एउटा खुशीको खबर छ । आगामी दुई वर्षमा सञ्जय ६ फिल्ममा देखिँदैछन् । हालै मात्र उनले ‘कलंक’, ‘तुलसी दास’ र ‘प्रस्थानम’को सुटिङ पुरा गरेका छन् । अब उनी चाँडै थप तीनवटा नयाँ फिल्मको सुटिङ सुरु गर्दैछन् ।

समाचार अनुसार फिल्म ‘शमशेर’को पहिलो सुटिङ सेड्युल फेब्रुअरीसम्म हुनेछ । तर सञ्जयले आफ्नो दृश्यको सुटिङ दुई हप्ता अघि नै पुरा गरिसकेका छन् । उनले डिसेम्बर १० बाटै आशुतोष गोवारिकरको फिल्म ‘पानीपत’ को सुटिङ पनि शुरु गरिसकेका छन् । यो फिल्मको सुटिङ मार्चसम्म चल्नेछ । यो फिल्ममा सञ्जयका अलावा अर्जुन कपूर, कृति सेनन र पद्मिनी कोल्हापुरीको पनि अभिनय छ ।

दुवै पिरियड ड्रामा फिल्मको सुटिङ जुनदेखि जुलाईसम्म सकिनेछ । योपछि उनी महेश भट्टको फिल्म ‘सडक २’ मा व्यस्त हुनेछन् । यो फिल्ममा उनीसँगै आलिया भट्ट, पूजा भट्ट र आदित्य रोय कपूरको पनि अभिनय हुनेछ । ‘सडक २’ सन् १९९१ मा रिलिज फिल्म ‘सडक’को सिक्वेल हो । यो फिल्म सन् २०२० को मार्च २५ मा रिलिज हुनेछ ।