बोबीलाई पूर्णता दिँदै मिलन चाम्स

काठमाडौं । गत असार २९ मा रिलिज फिल्म ‘बोबी’को नटुंगिएको कथा अब यसको सिक्वेलमार्फत टुंगिने भएको छ । उमेश थापा र कविता गुरुङको वास्तविक प्रेमकथालाई उतारिएको फिल्मलाई निर्माता तथा निर्देशक मिलन चाम्सले फिल्म ‘बोबी २ः बाँकी कथा’मा टुंग्याउन लागेका हुन् ।

फिल्मको शनिबार एक कार्यक्रमकाबीच घोषणा कार्यक्रममा निर्देशक मिलनले सिक्वेलमा कथा टुंगिने बताएका हुन् । ‘बोबी २ः बाँकी कथाले पोखराका उमेशले आफ्नो विद्यार्थीकालदेखि नर्वेमा गएर इन्जिनियरिङ पढ्दासम्मका संघर्ष र नर्वेमा कवितासँगको भेट प्रसंगलाई प्रस्तुत गरिनेछ’, मिलनले फिल्मको कथासार सुनाए, ‘यो फिल्मको स्क्रिप्टको तयारी गर्दा म धेरैपटक रोएको छु । पहिलो भागको फिल्ममा केही कुरा पुगेका थिएनन् । पहिलो अपुग कुरालाई दोस्रो भागमा पूर्णता दिनेछु ।’

चैत दोस्रो साताबाट छायांकन सुरु हुने फिल्ममा उमेश र कविता नै शीर्ष भूमिकामा हुनेछन् । यी दुई कलाकारबाहेक विजय लामाको पनि अभिनय हुनेछ । नायक उमेशले आफ्नो संघर्षलाई फिल्मको पर्दामा हेर्न पाउँदा उत्साहित भएको बताए । त्यस्तै नायिका कविताले उमेशसँगको भेटमा उसले आफूसँग शेयर गरेका कुरालाई पर्दामा प्रस्तुत हुनु आफैमा रोचक रहने दाबी गरिन् ।

५० प्रतिशत नर्वेमा छायांकन हुने फिल्मको नेपालमा भने पोखरा र काठमाडौंमा हुनेछ । नरेश भट्टराई र गिरिराज घिमिरेको पटकथा र संवाद रहने फिल्ममा सुदीप बरालको डीओपी, नवराज उप्रेतीको छायांकन र वनिष शाहको सम्पादन हुनेछ । चाम्स इन्टरटेन्मेन्ट र लण्डन सिने आईको ब्यानरमा निर्माण हुने फिल्म आगामी वर्षको मध्यसम्ममा रिलिज गर्ने बताए ।