मुम्बई(एजेन्सी) । करिब ३ सय करोडको बजेटमा निर्माण भएको फिल्म ‘ठग्स अफ हिन्दुस्तान’ले भारतमा जसोतसो १ सय ५० करोडको मात्र व्यापार गर्दा यो फिल्मको कमाईको अनुपात चिनियाँ बक्स अफिसमा पनि बिजोग देखिएको छ । चीनमा बढ्दो आमिरको क्रेजलाई मध्यनजर गर्दै यो फिल्मले चिनियाँ बक्स अफिसमा रेकर्ड नै राख्ने अनुमान भइरहँदा फिल्मले अनुमान विपरित फिल्मले अत्यन्तै न्यून ओपनिङ गरेको छ ।
समाचार अनुसार फिल्मले पहिलो दिन १ दशमलब ५३ मिलियन डलर अर्थात १० करोड ६७ लाख रुपैंयाँ मात्र कलेक्सन गरेको थयो । रिलिजको पहिलो दिन यो फिल्म चीनको २७ हजार ५ सय पर्दामा प्रदर्शन हुँदा झण्डै ३ लाख ३८ हजार ६ सय १ टिकट विक्री भएको थियो । आमिरको चीनमा बढ्दो वर्चस्वलाई हेर्दा यो उनको सर्वाधिक खराब प्रदर्शन हो ।
तर फिल्म निर्माता यशराज फिल्मस्लाई भने यो फिल्म चीनमा कम व्यापार गर्दा पनि केही घाटा हुँदैन । किनकी चीनमा यो फिल्मले १ सय १० करोड रुपैंयाँको एमजी पाएको छ ।आमिरलाई चिनियाँ बक्स अफिसको सुल्तान नै मानिन्छ । चार वर्षमा आमिर अभिनित सबै फिल्मले उल्लेख्य व्यापार गरेको थियो ।