हङकङमा गुड्दै अनुपको पुरानो बुलेट

काठमाडौं । नायक अनुपबिक्रम शाहीको अभिनय रहेको फिल्म ‘पुरानो बुलेट’ नेपालमा प्रदर्शन अघि हङकङमा गुड्ने भएको छ । नेपालमा आगामी चैत १ गते रिलिजको तयारीमा रहेको फिल्मले पहिलो प्रदर्शन हङकङबाट गर्न लागेको हो । फिल्म हाल पोस्टप्रोडक्सनमा छ ।

निर्देशक भीषण राईका अनुसार फेब्रुअरी २३ तारिखका दन साँझ ६ बजे हङकङको याउमातेईस्थित कम्युनिटी हलबाट फिल्मको वल्र्ड प्रिमियर हुँदैछ । ‘हेल्प फर ह्युमिनिटी’ (न्यानो काख अभियान) सहयोगार्थ प्रर्दशन हुने फिल्मको पहिलो शोमा सहयोग गर्न चाहनेहरुबाट संकलित रकम उक्त अभियानमा उलपब्ध गराइनेछ । हङकङमा रहेर पत्रकारितासँगै समाजसेवामा सक्रिय अनोज रोका, मज्जाको राई, विजय लिम्बु, सरु राई र सुनिता लिम्बुले फिल्म प्रिमियरको जिम्मेवारी लिएका छन् ।

पुर्वेली मौलिक कथा र लोकेशनलाई थिम बनाउँदै निर्माण भएको फिल्ममा अनुपविक्रमसँगै बर्षा शिवाकोटी र माला लिम्बु प्रमुख भूमिकामा छन् । फिल्ममा कविता आले, कृष्णभक्त महर्जन, शिरोमणी दवाडी, शिव मुखिया, दिवज राई, बादल श्रेष्ठ, करण धिताल, युडी गुप्तालगायतका कलाकारहरुको पनि अभिनय छ ।

सन्तोष राई कार्यकारी निर्माता रहेको फिल्ममा अशोककुमार राई, वीरेन साम्बा, टिकाराम राई, दिपेन लिम्बु निर्माता छन् । फिल्ममा हरि घले लामाको छायांकन छ ।