प्रशान्तसँग केको बदला चाहन्छन् सुशील ?

काठमाडौं । द्वन्द्व, प्रेम, विछोड अनि बदला । आगामी माघ १८ गतेबाट रिलिज हुने फिल्म ‘रणवीर’को सार्वजनिक ट्रेलरमा यी माथिका सबै कुरा देख्न पाइन्छ । एक पात्रसँग ‘बदला’ भनेर सुशीलले संवाद बोलिरहँदा त्यो संवाद प्रशान्तप्रति लक्षित हो भन्न सकिन्छ । तर उनको यो भनाई सही वा गलत थाहा पाउन दर्शकले फिल्म नै हेर्नुपर्ने हुन्छ ।

फिल्मको ट्रेलर प्रशान्त ताम्राकार र सुशील सिटौला बीचको द्वन्द्वमै केन्द्रीत छ । ट्रेलरमा देखिने अन्य चरित्रहरु यी दुई पात्रको द्वन्द्वमा थोरै अंशमा मात्र देखिन्छन् । फिल्ममार्फत अभिनयमा पाइला चालेका शुबेच्छा खड्का र सुपुष्पा भट्टलाई रोमान्टिक अवतारमा बढी देखाइएको छ ।

गोविन्दसिंह भण्डारीको कथा, पटकथा, संवाद र निर्देशन रहेको फिल्ममा रवि गिरी, नरेश पौडेल, हरिहर शर्मा, टिका पहाडी, भोलाराज सापकोटालगायतको अभिनय छ । फिल्ममा महेश पौडेलको छायांकन, कृष्ण भण्डारीको सम्पादन र चन्द्र पन्तको द्वन्द्व छ । फिल्ममा गोमा विष्ट थापा र दीपेन्द्र रेग्मीको लगानी छ ।