गजनी २ को तयारीमा आमिर

मुम्बई(एजेन्सी) । बलिउड अभिनेता आमिर खान ९० को दशकका सबैभन्दा सफल कलाकारमध्ये एक हुन् । समयको परिवर्तनसँगै फरक–फरक फ्लेभरका फिल्म निर्माण गरिरहेका कारणले पनि दर्शकले आमिरको कुनै पनि फिल्म छुटाउँदैनन् । तर गत वर्ष रिलिज आमिरको ठूलो बजेटको फिल्म ‘ठग्स अफ हिन्दुस्तान’ले उनका फ्यानलाई निराश बनायो । यो फिल्मबाट आमिर र उनका फ्यानले ठूलो आशा राखे पनि त्यो आशामा तुषारापात भयो ।

समाचार अनुसार आमिर ‘ठग्स अफ हिन्दुस्तान’को फ्लप पीडालाई बिर्साएर बक्स अफिसमा जबरजस्त पुनरागमन गर्न ‘गजनी २’को निर्माणको तयारीमा जुटेका छन् । फिल्म ‘गजनी’का निर्माताले नयाँ फिल्मका लागि ‘गजनी २’ नाम पनि दर्ता गराइसकेका छन् ।

निर्माताले ‘गजनी २’लाई हिन्दी र तेलुगु भाषामा दर्ता गराएका छन् । फिल्मको नाम दर्ता गरिए पनि निर्देशक को हुने निश्चित भइसकेको छैन । यो फिल्मको पहिलो संस्करण एआर मुर्गडसले निर्देशन गरेका थिए ।

केही समय अघि आमिरले आफ्नो डाइटिङमा ध्यान दिइरहेको समाचार सार्वजनिक भइरहँदा अहिले उनको त्यो डाइटिङ ‘गजनी २’ लाई त होइन् ? भन्ने चर्चा सुरु भएको छ ।