हङकङमा एकल साँझ, नेपालमा विमोचन

काठमाडौं । गीतकार भद्रकला आङबुहाङ राईको दोस्रो एल्बम ‘माया’ सार्वजनिक भएको छ । राजधानीमा यो एल्बम सार्वजनिक भइरहँदा हङकङमा भद्रकलाले आफ्नो एकल रचनाहरुको गायन साँझ सम्पन्न गरेकी थिइन् । उनको एल्बमलाई संगीतकार शम्भुजित बासकोटा, गीतकार डा. कृष्णहरि बराल, गीतकार उन्नति बोहोरा शिला , संगीतकारद्वय राजु सिंह र लक्ष्मण शेषले सार्वजनिक गरे ।

कार्यक्रममा गीतकार भद्रकलाको गीतिकारीता र समाजसेवाप्रतिको लगावको अतिथिहरूले तारिफ गरेका थिए । भद्रकलाको ‘माया’ मा कुल ११ गीत छन् । सुरेश अधिकारी, राजिब शाह, बसन्त सापकोटा र बादल लिम्बुको संगीतमा तयार भएको एल्बममा राजेशपायल राई, अन्जु पन्त, स्वरुपराज आचार्य, प्रमोद खरेल, दीपक लिम्बु, रजिना रिमाल, प्रविशा अधिकारी र निकिता थापाको स्वर छ ।

केहि गीतमा संगीतकार बादलकै स्वर छ । हङकङमा भद्रकलालाई एकल गायनमा राजेशपायल राई, बादल लिम्बु, प्रविशा अधिकारीले साथ दिएका थिए । त्यहाँ उनीहरुले १ दर्जन गीतहरु प्रस्तुत गरेका थिए । भद्रकलाकै गीतमा नायिका मरिष्का पोखरेलले नृत्य पनि गरेकी थिइन् । असाहाय अशक्त बिरामीको सहयोगार्थ सम्पन्न सो कार्यक्रमबाट उठेको पैसाले भद्रकलाले सामाजिक कार्यलाई निरन्तरता दिने बताएकी छिन् ।