काठमाडौं । सांगीतिक प्रेमकथामा रहेर फिल्म ‘सानो मन’ निर्माण हुने भएको छ । माघ ७ गतेबाट छायांकन सुरु हुने फिल्ममा नायक आयुष्मान देशराज जोशी र नायिका शिल्पा मास्केको रोमान्स हुनेछ ।
यसअघि शिल्पाले ‘कागजपत्र’ र ‘द ब्रेकअप’ मा काम गरिसकेकी छिन् । आयुष्मानले फिल्म आफूले धेरै अगाडि साइन गरेको बताए । ‘मेरो क्यारेक्टरको नाम निर्वाण हो । फिल्मको स्टोरी नर्मल छ, मिठो छ, छोटो छ र राम्रो छ ।’ उनले भने ।
शिल्पाले पनि दुई वर्ष अगाडि आफू लण्डनमा हुँदा फिल्मको स्क्रिप्ट सुनिसकेको बताइन् । फिल्ममा उनी सानियाको भूमिकामा देखिनेछिन् । काठमाडौं, भैरहवा, हङकङ र मकाउमा छायांकन हुने फिल्ममा योगेश गुरुङ, राजिव श्रेष्ठ र राजेन्द्र मानन्धरको लगानी हुनेछ ।
ओपिजी फिल्मस् र ए प्लस इन्टरटेन्मेन्टको ब्यानरमा बन्ने फिल्ममा गौरी मल्ल, विशाल पहारी, शिशिर वाङदेल, रश्मी भट्टलगायतका कलाकारहरुको पनि अभिनय हुनेछ । समिर सुनवार र निर्देशक गुरुङको लेखन रहने फिल्ममा आलोक शुक्लाको छायांकन, साजन सिंहको कोरियोग्राफी, सुयोग सोताङको संगीत रहनेछ । निर्देशक गुरुङले ‘सानो मन’लाई आफ्नो ड्रिम प्रोजेक्ट रहेको बताउँदै फिल्म राम्रो बनाउन कुनै कसुर बाँकी नराख्ने बताए ।