स्वस्तिमाको चालामा रिसाइन् घरबेटी

काठमाडौं । नायिका स्वस्तिमा खड्का र नवनायक मुकुन भुषालको छोटा–छोटा संवाद र दृश्य संलग्न दुई टिजर सार्वजनिक गरेर चर्चामा आएको फिल्म ‘बुलबुल’ले माघे संक्रान्तिको अवसर पारेर ट्रेलर सार्वजनिक गरेको छ । सार्वजनिक ट्रेलरमा स्वस्तिमाका भिन्न–भिन्न रुप देखाइएको छ ।

ट्याम्पो ड्राइभरदेखि चोपेन्द्र बनेका मुकुनसँगको आत्मियता हुँदै स्वस्तिमाको चालामालामा घरबेटीले प्रश्न उठाएको दृश्य समेटिएको छ । एक दुई दृश्यमा स्वस्तिमालाई न्यूड देखाइएको छ । ट्रेलरमा स्वस्तिमा, मुकुन र लक्ष्मी बर्देवा फिचर्ड छन् ।

फिल्मका निर्देशक विनोद पौडेलले बजार र आफ्नो रुचि दुवै कुरालाई मिलाएर ट्रेलरमा प्रस्तुतगर्ने जमर्को गरेको बताए ।  निर्माता अविरल थापाले अभिनेत्री स्वस्तिमा खडका अर्को फिल्मको छायांकनका कारण नेपाल आउन नसकेपछि विना कार्यक्रम एकैचोटि युट्युबमार्फत टे«लर सार्वजनिक गर्नु परेको जनाए ।

फिल्ममा बुद्धि तामाङ, मुकुन भुसाल, उज्वल अधिकारी, दीपक क्षेत्री, जोयस पाण्डे, एलिना कार्की आदि कलाकारको अभिनय रहेको छ । सुसन प्रजापतिको छायांकन रहेको फिल्ममा विनोद पौडेलकै लेखन छ । फिल्ममा पुरुषोत्तम पाण्डे, अबिरल थापा, भिम थापा र राजु पौडलको लगानी छ । रामराजा दाहाल कार्यकारी निर्माता रहेको फिल्म फागुन ३ गतेबाट रिलिज हुँदैछ ।