काठमाडौं । भीमफेदी गाइजको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । उत्सव सुब्बा लामाको आवाजमा रहेको ‘रनन रन्किने तोम्बा र छ्याङ’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो । मनाङको रमणीय स्थलहरुमा खिचिएको गीत तामाङ सेलो शैलीमा निर्माण गरिएको छ ।
मनाङको माइनस १० डिग्री चिसो तापक्रममा खिचिएको गीतलाई आफूहरुले निकै मिहेनत गरेकोले दर्शकहरुले मन पराउने विश्वास भीमफेदी गाइजका निर्मल लामाको छ । भीमफेदी गाइज र निर्जली लामा, पासाङ तामाङ फिचर्ड भिडियोमा तोम्बा र छ्याङको सेवनले हुने दुर्घटनालाई रमाइलो तवरले प्रस्तुत गरिएको छ ।
मनाङ घुम्न गएका युवाहरु छ्याङ खाएर लट्ठ भएपछि सबै सदस्यहरु लुटिएको देखाइएको छ । मिनसागर लामाको शब्द तथा उत्सव सुब्बा लामाको संगीत रहेको गीतको सम्पादन तथा छायांकन पवन सुस्लिङले गरेका हुन् भने गीतको कोरियोग्राफी निर्मल लामा स्वयम्ले गरेका छन् ।