भ्रष्टाचार र बेथितीविरुद्ध रणवीर

पोखरा । आगामी माघ १८ बाट रिलिज हुने फिल्म ‘रणवीर’लाई निर्माण पक्षले भ्रष्टाचार र बेथितिविरुद्धको फिल्मको रुपमा प्रस्तुत गरेको छ । फिल्म प्रोमोसनका लागि पोखरा पुगेको फिल्म निर्माण समूहले भ्रष्टाचार र बेथितिविरुद्ध फिल्मले बोल्ने बताए । उनीहरूले पोखरामा पत्रकारमाझ यो कुरा बताएका हुन् ।

फिल्मका लेखक एवं निर्देशक गोविन्द सिंह भण्डारीले आफु दक्षिण भारतीय फिल्ममा कार्यरत रहे पनि नेपालमा गुणस्तरीय फिल्म बनाउनु पर्छ भनेर यता आएको बताए । ‘फिल्ममा विकराल भ्रष्टाचार, अपहरण, गुन्डागर्दी जस्ता विविध समस्यालाई उठान गरिएको छ । प्रेमकथामा आधारित भएर पनि एक्सन प्रधान सामाजिक फिल्म बनाएका छौं’, उनले भने ।

फिल्मका अभिनेता सुशिल सिटौलाले फिल्ममा रणवीरको शिर्ष भूमिकामा अभिनय गरेको बताउँदै आफु रणवीर बनेर मुलुकका विकृति विसंगतिका विरुद्ध उत्रिएको बताए । फिल्ममा सुशिलसँगै, नवनायिकाद्वय शुभेच्छा खड्का, सुपुष्पा भट्ट, प्रशान्त ताम्राकार, हरिहर शर्मा, टिका पहारी, नरेश पौड्याल, भोलाराज सापकोटालगायतको मुख्य भूमिका छ ।

नवनायिका एवं ‘मिस नेपाल इन्टरनेशलन २०१२’ शुभेच्छा खड्काले पहिलो फिल्मबाट आफुले दर्शकको मन जित्नेमा विश्वस्त रहेको बताइन् । अर्की नायिका सुपुष्पाले फिल्ममा आफु एउटी प्रेमिकासँगै जिम्मेवार युवतीको भूमिकामा रहेको जनाइन् । फिल्ममा गोमा बिष्ट थापा र दीपेन्द्र रेग्मीको लगानी छ । गोमाले फिल्मको कथा सशक्त भएको र निर्देशक गोविन्दको यस अघिका कामबाट आफु प्रभावित भएकाले रणवीरमा लगानी गरेको बताइन् ।

निर्माता दीपेन्द्र रेग्मीले फिल्मले बाउ र छोराको सम्बन्ध कस्तो हुनुपर्छ भन्ने उदाहरण समाजमा पेश गर्ने जनाए । फिल्ममा महेश पौडेलको छायांकन, कृष्ण भण्डारीको सम्पादन, चन्द्र पन्तको द्वन्द्व, राजनराज शिवाकोटी, हर्कुलेस बस्नेत, अमित श्रेष्ठको संगीत, रामजी लामिछाने, गम्भिर बिष्ट र सुरेन बस्यालको कोरियोग्राफी छ ।