फरक गेटअपमा सानीका पल–एलिशा

काठमाडौं । नायक पल शाह र मोडल एलिशा राईद्वारा अभिनित ‘सानी’ गीतको भिडियो सार्वजनिक भएको छ । हाल अमेरिका बसोबास गरिरहेका गायक सुदन गैरेको स्वर तथा संगीत रहेको गीतमा प्रतिमा शर्माको शब्द छ भने आशिष अविरलको संगीत सयोजन रहेको छ ।

उत्सव दाहालको छायांकन रहेको गीतमा गम्भीर बिस्टले कोरियोग्राफी छ । भरत रेग्मीको सम्पादन रहेको भिडियोमा पल र एलिशालाई ७० र ८० को दशकको गेटअपमा देखिन्छ । सहनिर्देशक जया शर्माको कन्सेप्ट र सुव्रतराज आचार्यको निर्देशनमा भिडियो तयार भएको हो ।

चितवनमा जन्मिएका गायक सुदनलाई सानै देखि गीत संगीत, कला र साहित्यमा रुचि थियो। ललितकला कलेजमा पढ्दा गायन र संगीत बिषयका विद्यार्थी गैरेले कलेजकै समय तिर पहिलो एल्बम ‘तरेली’ सार्वजनिक गरेका थिए ।

२०६५ सालमा दोस्रो एल्बम ‘डिफाइन’ सार्वजनिक गरेका गायक गैरेको तेस्रो एल्बम ‘डिस्ट्यान्स’ २०७० सालमा सार्वजनिक भएको थियो । विगत ८ वर्षदेखि अमेरिका बस्दै आएका यी गायकले आफ्नो नयाँ गीत ‘सानी’ बजारमा ल्याएका हुन् ।