रुमालै छ चिनोको प्रेमिल पोष्टर

काठमाडौं । आउँदो फागुन १० गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘रुमालै छ चिनो’ को पोष्टर सार्वजनिक गरिएको छ । यसअघि ट्रेलर र गीत रिलिज भइसकेको यो फिल्मको सार्वजनिक चार पोष्टरमा मुख्य भूमिकामा रहेका नायक सुशान्त कार्की र नायिका अप्सना थापा फिचर्ड छन् ।

दिनेश सिंह ठकुरी निर्देशीत यो फिल्म काठ क्षेत्रका चर्चित गायक रेशम थापाको लोकप्रिय गीत ‘रुमालै छ चिनो’ नाम सापटी लिएर निर्माण गरिएको हो । ज्योती फिल्मस्को ब्यानरमा बनेको यो फिल्ममा चन्द्र बहादुर खड्का, दिपक ढकाल र राम प्रसाद पाण्डेको सयुक्त लगानी छ ।

निर्देशक ठकुरीले फिल्मको पोष्टर रिलिज सँगै अहिले मिक्सिङको काम भइरहेको जानकारी गराए । ‘अहिले पोष्टर रिलिज गरेसँगै पोष्ट प्रोडक्सनको काम गरिरहेका छौं, साथै पोष्टरहरु सबैहलहरुमा पुगिसकेको छ’ ठकुरीले जानकारी दिए ।

यसअघि अर्जुन पोखरेल र अञ्जु पन्तको स्वर रहेको ‘ए माया…’ बोलको गीत सार्वजनिक भइसकेको छ भने आउँदो शुक्रबार अर्को बियोगान्त गीत सार्वजनिक गर्ने तयारीमा रहेको निर्देशक ठकुरीले जानकारी दिएका छन् ।

बिनोद सापकोटाले छायांकन र शिब थारुले सम्पादन गर्ने यो फिल्ममा सुशान्त र अप्सनाको साथमा किशोर खतिवडा, संचिता लुइँटेल, रश्मी भट्ट, मिथिला शर्मा, सुरबीर पण्डित, लक्ष्मण बिक्रम बस्नेत, सुरज महरा, सन्ध्या खड्का लगायतका कलाकारहरुको अभिनय रहेको छ । फिल्ममा रेशम थापाको कथा छ ।