हजारको नोटमा आशिरमानको अटोग्राफ

काठमाडौं । आगामी फागुन १७ गते रिलिज हुने फिल्म ‘दि ब्रेकअप’ले प्रदर्शन मिति नजिकिँदै गएपछि प्रचाप्रसारको कामलाई निरन्तरता दिएको छ । निर्माण टिमले गत आइतबार सरस्वती पुजा लक्षित कार्यक्रममा पुल्चोक इन्जिनियरिङ कलेजमा विद्यार्थीमाझ फिल्मको प्रोमोसन गरेको छ ।

अभिनेता आशिरमान देशराज जोशी, रेमनदास श्रेष्ठ र इच्छा कार्की विद्यार्थी माझ पुग्दा विद्यार्थीले हुटिङ र तालीले स्वागत गरेका थिए । निर्देशक हेमराज बिसी सहित उपस्थित युनिटले फिल्ममा समावेश ’आज हाम्रो भेट भएको दिन’ बोलको गीतमा नृत्य पनि गर्यो । आशिर र इच्छाले स्टेजमा कम्मर मर्काउँदा दर्शक तथा विधार्थीहरुले साथमा साथ दिएका थिए । त्यसपछि आशिरका क्रेजी फ्यानहरु सेल्फी र अटोग्राफमा रमाए । एक युवती फ्यानले कापी र डायरीको अभावमा आफ्नो साथमा भएको एक हजारको नोटमै अटोग्राफ लिइन् ।

आशिरमानले फिल्मको मुख्य कन्टेन्ट नै युवा लक्षित भएको भन्दै कलेज केन्द्रित प्रचारमा जोडिएको बताए । पछिल्लो पुस्ता प्रेमबाट टाढा नरहेको भन्दै आशिरले माया गर्ने जो कोहिको लागी पनि ’दि ब्रेकअप’ मनोरञ्जनको उपयुक्त खुराक बन्ने बताए ।

रुपक थापा, दीपक खतिवडा र रेनु राणाको निर्माणमा बनेको ’दि ब्रेकअप’मा शिल्पा मास्के, सरोज खनाल लगायत लिड अभिनयमा छन् । फिल्मलाई नेपाल र अष्ट्रेलियामा छायाँकन गरिएको छ । नरेन्द्र मैनालीले छायाँकन गरेको फिल्मलाई सुरेन्द्र पौडेलले सम्पादन गरेका छन् ।