काठमाडौं । नायक सलिनमान बनियाँ ‘डेब्यु’ फिल्म ‘ए मेरो हजुर २’बाटै चर्चामा आए । क्युट लुक्समा लामो कपालधारी यी युवा नायक आगामी चैत अन्तिम साता अर्थात चैत २९ गतेबाट रिलिज हुने फिल्म ‘यात्राः अ म्युजिकल भ्लग’बाट पुनः दशर्कमाझ आउँदैछन् ।
सलिनको अनुभवमा डेब्यु फिल्म भन्दा दोस्रो फिल्म अर्थात् ‘यात्राः अ म्युजिकल भ्लग’काम गर्न निकै सजिलो भयो । ‘ए मेरो हजुर २ मा काम गर्दा म नयाँ थिएँ । नेपाली फिल्म उद्योगको बारे केही बुझेको थिइनँ । तर ‘यात्राः अ म्युजिकल भ्लग’मा काम गर्दा मैले धेरै कुरा बुझिसकेको थिएँ । त्यसले गर्दा पनि काम गर्न सजिलो भयो’, सलिनमानले सोमबार राजधानीमा पत्रकारमाझ भने,‘अघिल्लो फिल्म भन्दा यो फिल्म पावरफुल छ । कथा फरक भएकाले पनि दर्शकले नयाँ स्वाद पाउन सक्नेछन् ।
फिल्ममा सलिनमानले एक यात्रीको भूमिका निर्वाह गरेका छन् । चार साथीसँगको यात्रामा आउने उतारचढावलाई फिल्ममा देखाइएको छ । फिल्ममा यात्रारत यात्री भए पनि सलिनमान वास्तविक जीवनमा भने यात्रामा चासो राख्दैनन् । ‘मलाई यात्रामा कहिल्यै रुची लागेन । तर फिल्मको यात्रा भने रमाइलै भयो’, उनले भने, ‘मलाई प्रेमकथाका फिल्म भन्दा पनि एक्सन फ्लेभरको फिल्म मनपर्छ ।’
फिल्म ‘यात्राः अ म्युजिकल भ्लग’ युनिटले सोमबार ‘पाँच पन्क्षी’ बोलको पहिलो गीत सार्वजनिक गरेको छ । काठमाडौंदेखि सोलुखुम्बुसम्मको यात्रालाई समेटिएको गीतमा धर्मेन्द्र सेवान, मेलिना राई, प्रेक्षा बज्राचार्य र उपकार पाण्डेको स्वर रहेको छ भने यसमा शब्द र संगीत प्रतिक पौडेलको रहेको छ ।
फिल्मलाई सम्राट शाक्यले निर्देशन गरेका छन् । फिल्ममा सलिनसँगै, सलोन बस्नेत, जान्वी बस्नेत, जयनन्द लामा, रेअर राई, प्रेक्षा बज्राचार्य, धिरेन शाक्य, राजाराम पौडेल, विशाल कटवाल, समृद्धि राई, योगेश जंग कुँवर, इश्वर पौडेल, नानीकाजी डंगोललगायतको अभिनय छ । फिल्ममा केशव भट्टराईसँगै चिजकुमार श्रेष्ठ पनि प्रस्तुतकर्ता छन् । फिल्ममा सुशिल पोखरेल निर्माता, सर्जुमान लिगल कार्यकारी निर्माता छन् ।