२० दिनमा सकियो घर

काठमाडौं । हरर कथामा निर्माण भएको फिल्म ‘घर’को छायांकन २० दिनमा नै सकिएको छ । फिल्मको छायांकन सकिएको र उत्कृष्ट बनाएको दाबी यसकी निर्मात्री शर्मिला पाण्डेले गरेकी छिन् ।  काठमाण्डौका विभिन्न स्थानमा यो फिल्मको छायांकन गरिएको छ । फिल्मलाई अर्पण थापाले निर्देशन गरेका छन् । फिल्ममा कथा पनि उनकै छ । फिल्म ‘घर’मा नायक अर्पण थापाको साथमा दुई नायिका बेनिशा हमाल र सुरक्षा पन्तको मुख्य भूमिका छ ।

फिल्मको बिषयमा निर्मात्री पाण्डेले भनिन्–‘यसपटक हामीले धेरै तयारी गरेकाले पनि छायांकन चाडै नै सकियो । दिनरात नभनी काम गरेका छौ । फिल्मले दर्शकलाई मनोरञ्जन मात्र होइन, हरर कथामा बनेका नेपाली फिल्मले दर्शकलाई छुट्टै खालको महशुश गर्न सक्दैनन् भन्ने आरोपलाई पनि तोड्नेछ ।’ फिल्मलाई डीएस डिजिटलको ब्यानरमा निर्माण गरिएको हो । फिल्ममा निरज कँडेलको छायांकन छ । फिल्ममा दीपेन्द्र के खनाल र सुरज पाण्डे प्रस्तुतकर्ताको रुपमा छन् ।

फिल्मका प्रस्तुतकर्ता मध्येका एक दिपेन्द्रले भने–‘यो फिल्मले दर्शकलाई तर्साउनेछ । हामीले कथावस्तुदेखि धेरै कुरामा मिहिनेत गरेका छौ । अब, भीएफएक्सको पनि काम धेरै छ । प्रदर्शन मिति चाडै नै तोक्नेछौ ।’ फिल्ममा नायिका बेनिशा हमालको गेटअप केही फरक देखिएको छ । बेनिशाले आफ्नो गेटअपको बिषयमा केही खुलाउन नमिल्ने बताइन् । नायिका सुरक्षा पन्त यो फिल्ममा अर्पणकी श्रीमतीको भूमिकामा देखिदैछिन् ।