मुकुनले बुढी भन्दा रिसाइन् स्वस्तिमा

काठमाडौं । समीक्षकबाट राम्रो प्रतिक्रिया पाएको फिल्म ‘बुलबुल’ले फिल्मभित्रको एक दृश्य सार्वजनिक गरेको छ । सार्वजनिक दृश्यमा फिल्मका मुख्य कलाकार स्वस्तिमा खड्का र मुकुन भुषालको फोन संवाद समेटिएको छ । झट्ट सुन्दा रोमान्टिक लागे पनि सार्वजनिक दृश्य फिल्मको महत्वपूर्ण अंश रहेको निर्देशक विनोद पौडेलले बताए । फिल्मको लेखकसमेत रहेका पौडेलले दृश्यले गहिरो अर्थ बोकेको बताउँछन् ।

‘यो दृश्यले प्रेमको आशक्ति र मनोदशालाई सुक्ष्म ढंगले अभिव्यक्त गर्दछ,’ पौडेलले भने, ‘ यो दृश्य मलाई मन परेको दृश्यमध्ये एक हो । फिल्म हेर्ने धेरैले यो दृश्यलाई फिल्मको मुटु भएको र धेरैले आफूपनि नोस्टाल्जिक भएको प्रतिक्रिया दिएका छन् । दृश्यले फिल्म कुन सोच र सेटिंगमा बनेको छ भन्ने कुरा पनि बताउँछ ।’ अहिलेसम्म फिल्म नहेरेका दर्शकलाई फिल्मप्रति थप उत्सुक बनाउन यो दृश्यले ट्रिगर गर्ने हुँदा यसलाई बुलबुलको ट्रिगर भन्न सकिने पनि पौडेलले बताए ।

शुक्रबारबाट प्रदर्शन थालेको फिल्मले सामाजिक सञ्जाल, पत्रपत्रिका र अनलाइनमा उत्कृष्ट समीक्षा पाउँदै आएको छ । समीक्षकले फिल्मको प्रस्तुति, अभिनय, प्राविधिक काम र निर्देशन अब्बल भएको प्रतिक्रिया दिएका छन् । निर्माता अविरल थापाले फिल्मको व्यापार दिनप्रतिदिन बढदै गएको बताएका छन् ।  ‘शनिबार लगभगशत प्रतिशत र बाँकी दिनमा चालिसदेखि पचास प्रतिशतको हिसाबले फिल्मले दर्शक पाइरहेको छ । यो आँकडा हाम्रो अनुमानअनुरुप नै छ । यसरी नै माउथ पव्लिसिटी बढदै गए सप्ताहान्त सम्ममा हामी लगानीका हिसाबले सुरक्षित हुन्छौं भन्ने विश्वास छ,’थापाले भने ।

फिल्म १ करोड हाराहारीको बजेटमा बनेको हो । निर्माता थापाले फिल्मले राम्रो समीक्षापाए सँगै डायस्पोरामा पनि फिल्मको माग बढेको र आफनो सिनेमा सबटाइटल राखेर संसारभर बिक्रीगर्न सकिने स्तरको भएको हुँदा अन्य विदेशी बजारमा पनि किनबेचको प्रक्रिया अघि बढिरहेको जानकारी गराए ।