प्रदिप–जसिता भेट्दा रमाइन् मेघा

काठमाडौं । फिल्मको पर्दामा हेरिरहेका कलाकार आफ्नै अगाडि उपस्थित हुँदा खुशी नहुने को होला र । करेन्टबाट दुबै हात गुमाएकी मोरङकी मेघा घिमिरेलाई बुधबार दिउँसो उनकै डेरा भक्तपुरमा भेटेर फिल्म ‘लभ स्टेसन’का कलाकारद्वय प्रदीप खड्का र जसिता गुरुङले भेट्दा मेघाको अनुहार उज्यालो भएको थियो । आगामी चैत २२ गते रिलिज हुने फिल्मले मेघालाई भेटेसँगै एक लाख रुपैंयाँ सहयोग गर्दा उनी झन खुशी देखिइन् ।

फिल्मको तर्फबाट प्रदीप र जसितासँगै निर्माता गोविन्द शाही र संगीतकार एलिस कार्कीले मेघाको घर पुगेका थिए । कलाकार शिशिर भण्डारीले जम्मा गरेर राखेको ४ लाख रुपैंयाँ सहयोग पनि सोही क्रममा अभिनेता प्रदीप खड्काले मेघालाई प्रदान गरे ।

आफ्ना प्रिय नायक, नायिकालाई घरमै भेट्न पाउँदा आफुमा पनि खुसीको सिमा नरहेको मेघाले बताईन् । निर्माता गोविन्द शाहीले दर्शकका प्रिय कलाकारहरुले दर्शकका लागि सहयोग गर्दा आपसी सम्बन्ध अझ निकट हुने बताए । लभ स्टेशन आफैंमा पारिवारिक एवम् प्रेमकथामा आधारित सामाजिक चलचित्र भएकाले आफुहरुले पनि समाजमा मेघालाई स्थापित गर्न उनलाई भेट्नुका साथै सहयोग प्रदान गरेको निर्माता शाहीले बताए ।

यो चलचित्रलाई उज्जवल घिमिरेले निर्देशन गरेका हुन् । लभ स्टेशनमा प्रदीप र जसितासँगै रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु रानासहितको अभिनय यसमा छ ।

लभ स्टेशनलाई काफिया फिल्मस्को व्यानरमा काफिया शाही (क्रिसु) र कविरबिक्रम शाहीले निर्माण गरेका हुन् । आलोक शुक्लाको छायाँकन रहेको लभ स्टेशनमा शम्भुजीत बासकोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत छ । यो चलचित्रको निर्माण नियन्त्रकमा राजेन्द्र रावल छन् ।