जेठमा आउँदै मिलनको वीरविक्रम २

काठमाडौं । नायक पल शाहको जन्मदिनको अवसर पारेर फिल्म ‘वीरविक्रम २’ को प्रदर्शन मिति सार्वजनिक गरिएको छ । शुक्रबार परेको उनको जन्मदिन मनाउँदै फिल्म युनिटले आगामी वर्षको जेठ ३ गते फिल्म रिलिजको घोषणा गरेको हो ।

फिल्मको पहिलो गीत ‘पिरतीको मिठो तिर्सना’ले चर्चा पाइरहँदा पल, नाजिर हुसेन र वर्षा शिवाकोटीको प्रमुख भूमिकामा अभिनय रहेको फिल्मले रिलिज मिति घोषणा गरेको हो । यो मितिमा योगेश घिमिरेको फिल्म ‘प्रेमदिवस’ पनि रिलिज हुँदैछ ।

फिल्ममा मिलन चाम्सको निर्देशन तथा निर्माण छ । फिल्ममा बुद्धि तामाङ, देशभक्त खनाल, विनिशा भण्डारी, विनोद सुवेदी खत्री, मनिष लिम्बुलगायतका कलाकारहरुको पनि अभिनय छ । फिल्ममा सुदीप बरालको छायांकन, हिमाल केसीको द्वन्द्व र प्रदीप भारद्धाजको लेखन छ । फिल्ममा अर्पण सापकोटा सह निर्माता छन् ।