‘मैले अनमोललाई स्टार बनाएको होइन’

काठमाडौं । निर्देशक हेमराज बिसी र नायक अनमोल केसीबीच एउटा संयोग छ । त्यो के हो भने दुबैजनाले फिल्म ‘होस्टेल’बाट नै फिल्म क्षेत्रमा डेब्यु गरेका हुन् । अनमोल नायकका रुपमा र हेमराज निर्देशकका रुपमा डेब्यु गराउने फिल्म नै ‘होस्टेल’ हो । यो फिल्म पछि हेमराज र अनमोलले फिल्म ‘गाजलु’ र ‘जेरी’ मा सहकार्य गरे । त्यसयता भने उनीहरु एउटै फिल्ममा देखिएका छैनन् ।

आगामी शुक्रबारबाट अनमोलको फिल्म ‘क्याप्टेन’ र हेमराजको फिल्म ‘ब्रेकअप’ सँगै रिलिज हुँदैछन् । त्यसकारण पनि नेपाली फिल्म वृत्तमा यी दुई फिल्मको कारोबार भविष्य के हुने भन्ने अड्कलबाज सुरु भइसकेको छ ।

अनमोल एकपछि अर्को फिल्ममा व्यस्त हुन थालेपछि त्यसको श्रेय धेरैले हेमराजलाई नै दिन्छन् । तर हेमराज आफु भने यो कुरा मान्न तयार छैनन् । ‘स्टार दर्शकले बनाउने हो कुनै निर्देशकले होइन । मैले अनमोललाई स्टार बनाएको होइन् ’, उनले भने, ‘मैले भ्याएसम्म राम्रो फिल्म बनाएर दिने कोशिश गर्दै आएको छु । यो यात्रामा कुन कलाकारलाई माया दिने स्टार बनाउने भन्ने दर्शकको हातमा रहन्छ ।’

हेमराजको फिल्म ‘ब्रेकअप’मा आशिरमान देशराज जोशी फिचर्ड छन् । आशिरमानले यसअघि हेमराजकै फिल्म ‘ग्याङस्टार ब्लुज’बाट डेब्यु गरेका हुन् । अनमोल र आशिमान दुबैसँग सहकार्य गरिसकेका हेमराजलाई अनमोल भन्दा आशिरमानमा नै बढी विश्वास रहेछ । ‘आइ विल गो विथ आशिरमान । व्यवहार दुबैको राम्रो छ । प्रफमेन्सको हिसाबले स्कृप्ट अनुसार काम दुबैले राम्रो दिनसक्छन्,’ हेमराजले भने, ‘ग्याङ्गस्टर ब्लूजदेखि ब्रेकअपसम्म आउँदा आशिरले गरेको कामबाट आफु प्रभावित छु ।’