पुस्तान्तरणको कथामा तामाङ भाषी ङ्हो

काठमाडौं । तामाङ भाषा, कला, संस्कृति जगेर्नासँगै पुस्तान्तरणको कथामा नयाँ फिल्म ‘ङ्हो (भाग्य)’ निर्माण गरिएको छ । फिल्मका निर्देशक भुवन स्याङ्बो तामाङले फिल्ममा समुदायमा रहेका थरमध्ये स्वाँगेभाई सहअस्तित्व र कुटुम्ब साइनोबीच अज्ञानता र दुविधाले पारिएको समस्यालाई उजागर गरिएको बताए ।

अभिनेता जयनन्द लामाले फिल्ममार्फत आफ्नो मौलिकता प्रस्तुत गर्न पछिल्लो पुस्ता लागि परेकोमा खुशी व्यक्त गरे । उनले तत्कालीन समयमा ‘सेमरी छोरङान (मनको जागरण)’ निर्माण गरेर फिल्म बनाउने सुरुवात गरेकोमा खुशी व्यक्त गरे । तामाङ चलचित्र संघका अध्यक्ष विकु थोकरले निर्माता तथा निर्देशकहरु हल पुगेर फिल्म रिलिजको वातावरण तयार पार्नुपर्ने बताए ।

फापरे फिल्मस्को व्यानरमा बनेको फिल्ममा सुनिमाया तामाङ निर्माता छिन् । त्रिकोणात्मक प्रेमकथामा आधारित फिल्मले उत्तरी धादिङको रुबीभ्याली क्षेत्र र आसपासमा बोलिने भाषालाई प्रयोग गरेको छ । फिल्ममा किसमान तामाङ, आरम्भ तामाङ, निर्मला तामाङ, एलेक्स घले, छिमी माम्बा, मारनेन वाइबा, अनिता तामाङ, डोल्मा तामाङ, राजन तामाङ, निलमान तामाङ, रोज तामाङ, रिमान तामाङ, विजय तामाङ, झरना गुरुङ, सुमी तामाङ र बाल कलाकार तेञ्जिङ सोनामले अभिनय गरेका छन् ।

नरमान (रविन) तामाङको पटकथा, राहुल राई र सुर्य लामा छायांकन र राजु तामाङको द्वन्द्व, टिका बम्जन र सागरएस वाइबाको संगीत तथा विष्णु खड्का र सुर्य लामाको सम्पादन छ ।