हङकङमा रुचाइयो अनुपको पुरानो बुलेट

काठमाडौं । सञ्चारकर्मी भीषण राईको डेब्यु निर्देशन रहेको फिल्म ‘पुरानो बुलेट’को हङकङमा वल्र्ड प्रिमियर गरिएको छ । हङकङस्थित याउ माइ तेइ हलमा गरिएको ग्राण्ड प्रिमियरमा पुर्वेली जनजीवनलाई केन्द्रित गरेर निर्माण गरिएको फिल्मलाई दर्शकले रुचाएका थिए ।

आयोजकमध्येका एक मज्जाको राईले फिल्मको प्रस्तुती, कलाकारहरुको अभिनय सबै पाटोलाई दर्शकले रुचाएको बताए । फिल्मका कलाकार अनुपविक्रम शाही, अभिनेत्रीद्वय वर्षा शिवाकोटी र माला लिम्बुको अभिनयलाई दर्शकले प्रशंसा गरेका छन् ।

हेल्प फर ह्युमिनिटी (न्यानो काख अभियान) सहयोगार्थ आयोजित प्रदर्शनको व्यवस्थापन अनोज रोका, मज्जाको राई, विजय लिम्वु, सरु राई र सुनिता आङदेम्बेले सम्हालेका थिए । फिल्म आगामी चैत १ गते नेपालमा रिलिज हुँदैछ ।

फिल्ममा कविता आले, कृष्णभक्त महर्जन, शिरोमणी दवाडी, वारात लिम्बु, बादल श्रेष्ठ, करण धिताल र युडी गुप्ताको पनि अभिनय छ । फिल्मको कथा पटकथा लेखनमा निर्देशक भीषणले कार्यकारी निर्माता सन्तोष राईसँग साझेदारी गरेका छन् । अशोक कुमार राई, टिकाराम राई, विरेन साम्बा र दिपेन लिम्बु निर्मातामा छन् ।