बलिउडको टम ह्यांक्स बन्दै आमिर

मुम्बई(एजेन्सी) । फिल्म ‘ठग्स अफ हिन्दुस्तान’को असफलता पछि बलिउडका मिस्टर परफेक्शनिस्ट आमिर खानले कुनै पनि नयाँ प्रोजेक्टको घोषणा गरेका छैनन् । जसकारण आमिरले अब के गर्छन् भन्ने अन्यौलता उनका शुभचिन्तकमाझ ब्यग्र छ । यही माहौलमा आमिरको बारेमा एउटा नयाँ सुखद खबर भएको छ ।

खबरअनुसार आमिर हलिउडको सन् १९९४ को ब्लकब्लष्टर फिल्म ‘फरेस्ट गम्प’को बलिउड रिमेक बनाउँदैछन् । यो फिल्मको रिमेकको अधिकार उनले फिल्म निर्माण कम्पनी पारामाउन्ट पिक्चर्सबाट लिइसकेका छन् । फिल्मको हलिउड भर्सनमा टम ह्यांक्सले शीर्ष भूमिका निर्वाह गरेका थिए भने बलिउड रिमेक भर्सनमा आमिर शीर्ष भूमिकामा हुनेछन् ।

आमिरले फिल्मको बलिउड रिमेकको अधिकार लिइसकेकाले उनी चाँडै नै यो फिल्मको घोषणा गर्नेछन् । अमेरिकी साहित्यकार विन्स्टन ग्रुमले सन् १९८६ मा लेखेको उपन्यास ‘फरेस्ट गम्प’मा आधारित यो फिल्मले ६ विधामा ओस्कार एकेडेमी अवार्ड पनि जितेको थियो । रोबर्ट जेमेकिस निर्देशित फिल्ममा टमले गम्प नामक पात्रको भुमिकामा अभिनय गरेका थिए ।