विनोदको सर्ट फिल्म अर्थको अनर्थ

काठमाडौं । कलाकार विनोद बाजुराली लघु हास्यव्यंग्य फिल्म ‘अर्थको अनर्थ’ सार्वजनिक भएको छ । सर्ट फिल्ममा उनकै लेखन, निर्देशन र अभिनय छ । फिल्मको कथा आफू संलग्न संगीतलाई नै बनाएका छन् । शास्त्रीय संगीतमाथिको बुझाइलाई आधार बनाएर समाजको यथार्थमाथि फिल्मका माध्यमले कटाक्ष गरेका छन् । उनले विषयमा गहिरो ज्ञान नहुँदा पनि आफूलाई जान्नेसुन्ने देखाउने समाजका पात्रहरुको मनोवृत्तिलाई फिल्ममा उतारेका छन् ।

कुनै कार्यक्रम हुँदा सम्बन्धित क्षेत्रका बिज्ञका साटो राजनीतिज्ञ, समाजसेवी, व्यापारी हावी हुने अहिलेको प्रवृत्तिलाई लिएर बनाइएको फिल्ममा उनीहरुले कसरी ‘अर्थको अनर्थ’ लगाइरहेका छन् भन्ने देखाउन खोजिएको छ ।

फिल्ममा कलाकार बाजुरालीका साथै रामु खड्का, तेजश रेग्मी, महेन्द्र गौतम, भिम थापा, करण साउद, मन्जिता केसी, सुमन परियारलगायतले अभिनय गरेका छन् । राजेश घिमिरे र हरिश महराले छायांकन गरेको फिल्ममा स्मृति शाहीको स्वरमा शास्त्रीय संगीत सुन्न सकिन्छ । फिल्म मालती डिजिटलले निर्माण गरेको हो ।