प्रदीपको आँगनमा उदाईन् जसिता

काठमाडौं । आगामी चैत २२ गतेबाट देशव्यापी रिलिज हुने फिल्म ‘लभ स्टेशन’को नयाँ गीत ‘मेरो आँगनीमा आज जुन उदायो’को भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा प्रदीप खड्का, जसिता गुरुङ, विनोद पौडेललगायत फिचर्ड छन् । फिल्ममा नायक प्रदीपलाई लभस्टेसन नामक एक क्याफेको गायकका रुपमा प्रस्तुत गरिएको छ । फिल्ममा उनी राष्ट्रिय नभई क्षेत्रीय गायकको भूमिकामा छन् ।

संगीतकार शम्भुजीत बासकोटाको संगीत रहेको गीतमा गायक सुरेश लामाको स्वर छ । गीतका गीतकार फिल्मका निर्देशक उज्जवल घिमिरे हुन् । फिल्मका प्रस्तुतकर्ता गोविन्द शाही हुन् । उनका अनुसार मंगलबारदेखि पोखराबाट फिल्मको प्रमोसनल काम सुरु हुनेछ ।

फिल्ममा प्रदीप र जसितासँगै रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु रानासहितको अभिनय छ । लभ स्टेशनलाई काफिया फिल्मस्को व्यानरमा काफिया शाही (क्रिसु) र कविरबिक्रम शाहीले निर्माण गरेका हुन् ।