अभिनय छोड्दै आमिर खान ?

मुम्बई(एजेन्सी) । दमदार अभिनयका कारण पुरा विश्वमा आफ्नो अभिनयको प्रभाव छाड्न सफल अभिनेता आमिर खानले केही वर्षमा अभिनयलाई छोड्ने घोषणा गरेका छन् । हालैमात्र ५४ औं जन्मदिन मनाएका आमिर चाँडै नै फिल्म ‘लालसिंह चड्दा’मा शीर्ष भूमिकामा देखिँदैछन् ।

समाचार अनुसार निर्देशन या निर्माणमा पुर्ण रुपमा लागेपछि आमिरले अभिनय छोड्ने मनस्थिति बनाएका छन् । आमिर फिल्म निर्माणमा निकै रुची राख्छन् । उनले फिल्म ‘तारे जÞमीन पर’को निर्देशन पनि गरेका थिए ।

‘म शुरुमा अभिनयमा लागें । अभिनयमा लागेका कारण निर्देशनमा ध्यान दिइनँ । तर अब निर्देशनको समय आएको छ । म निर्देशन कलालाई दबाएर राख्न सक्दिनँ’, उनले भनेका छन्, ‘त्यसकारण केही वर्षपछि मेरो प्राथमिकतामा निर्देशन र निर्माण मात्र हुनेछ ।’

उनले आफुले कहिले पनि पैसा कमाउने सोच नराखेको बताए । ‘मानिसहरु आफ्नो ब्यानरबाट फिल्म बनाएर पैसा कमाउन चाहन्छन् । यो मेरो प्राथमिकतामा परेन । जबसम्म राम्रो स्क्रिप्ट हातमा पर्दैन । तबसम्म राम्रो फिल्म बनाउन सकिन्नँ ।’ उनले भनेका छन् ।