काठमाडौं । स्टेज कार्यक्रममा आफ्नो प्रस्तुतिका कारण चर्चा र विवादमा आइरहने गायिका सरस्वती लामाले फिल्मी अभिनयमा हात हालेकी छन् । खालिङ सिस्टर्स मुभिजको ब्यानरमा निर्माण हुने फिल्म ‘द डार्क एण्ड लाइट’ को शुक्रवार मुहुर्त गरिएको छ । पशुपति क्षेत्रमा रहेको वृद्धाश्रममा आयोजित कार्यक्रममा फिल्मका निर्देशक राजु अर्याल, अभिनेता पिटर खालिङ, अभिनेत्री सरस्वती लामाले क्यामराको पूजा गरेका थिए । गीतकार राजेन्द्र्र थापाले नरिवल फुटाएर मुहर्त भएको घोषणा गरेका थिए ।
फिल्ममा राजुलाई निर्देशनमा पिटर खालिङ, सरस्वती लामा तथा केशवराज भट्टले सघाउनेछन् । वृद्धाश्रममा आश्रित वृद्ध–वद्धाहरुलाई खाना खुवाउने उदेश्यले गरिएको मुहुर्तमा फिल्मकी अभिनेत्री तथा निर्देशक सरस्वती लामा तथा गायक डेविड शंकरले फिल्मको प्रोमोशनल गीत गाएका थिए । उक्त गीतमा राजेन्द्र थापाका शब्द तथा दीपक शर्माको संगीत निर्देशन छ ।
फिल्मका प्रस्तुतकर्ता,निर्देशक तथा अभिनेता पिटर खालिङले यो फिल्म कमेडी, रोमान्स तथा द्वन्द्व प्रधान हुने धारणा व्यक्त गरे । गायिकाको रुपमा स्थापित भैसकेकी सरस्वती लामाले यही फिल्ममार्फत पाश्र्व गायनका साथै अभिनय र निर्देशनको क्षेत्रमा समेत सक्रिय हुन लागेको बताइन् ।
फिल्ममा पिटर खालिङ र सरस्वती लामासहित सेसुका राई, सुमन मगर, प्रिन्सा राई आदि कलाकारहरुले मुख्य भूमिका निर्वाह गर्दैछन् । शुक्रवारदेखि नै प्mलोरमा गएको यो फिल्ममा कुमार महर्जनको द्वन्द्व रहने छ भने सविन भट्टराईले यो फिल्म छायांकन गर्नेछन् ।
फिल्मका अन्य गीतमा प्रताप दास तथा मेलिना राईको समेत पाश्र्व गायन रहने बताइएको छ । एक महिनाको सेड्यूलमा छायांकन सम्पन्न गर्ने लक्ष्य लिएको यो फिल्म दसैंअघि नै दर्शकमाझ आउने जानकारी गराइएको छ । फिल्मको कथा, पटकथा तथा संवाद अभिनेता पिटर खालिङले तयार पारेका हुन् ।