काठमाडौं । आगामी वैशाख २० गतेबाट अल नेपाल रिलिज हुने फिल्म ‘दाल भात तरकारी’ फिल्म प्रचारका लागि देश दौडाहामा निस्कने भएको छ । सुदन केसीको डेब्यु निर्देशन रहेको फिल्मले आगामी चैत्र २५ गते पूर्वको बिर्तामोड, चैत्र २६ गते दमक, चैत्र २७ गते ईटहरी, चैत्र २८ गते हेटौँडा,चैत्र २९ गते चितवन , चैत्र ३० गते बुटवल, बैशाख १ गते नेपागन्ज, बैशाख २ गते दाङ र बैशाख ४ गते पोखरामा फिल्मका कलाकारसहित प्रचारप्रसारको कार्यक्रम गर्दैछ ।
देशव्यापी भ्रमणमा हास्य कलाकार हरिवंश आचार्य, किरण केसी, शिवहरि पौडेल, जुनु रिजाल काफ्ले, आँचल शर्मा, पुष्प खड्कालगायतका कलाकार जानेछन् । फिल्मका निर्देशक केसीले फिल्मको नाम जस्तै दाल भात तरकारीलाई पनि नेपाली समाज र परिबेश सुहाउनु खालको बनाएको बताए । झण्डै आधा दर्जन नेपाली र एक हलिउड फिल्मको मुख्य सहायक निर्देशकको अनुभव बटुलिसकेका सुदनले आफुलाई फिल्मले एक राम्रो निर्देशकका रुपमा उभ्याउने बताए ।
हरिवंश आचार्यको कथा रहेको फिल्ममा हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, राजाराम पौडेल, शिवहरि पौडेल, किरण केसी, बसुन्धरा भुसाल, विल्सनविक्रम राई, निरुता सिंह, प्रियंका कार्की, बर्षा राउत, पुष्प खड्का, जयनन्द लामा, आँचल शर्मा, शिशिर वाङ्देल, रबिन तामाङ, मोहितवंश आचार्य, यमन श्रेष्ठ लगाएतका कलाकारहरुको अभिनय छ । चलचित्रमा हरिबंश र निरुताको जोडी देख्न पाइनेछ ।
फिल्म अष्ट्रेलिया, युरोप, लण्डन, जापान, अमेरिका, कोरिया लगायतका देशहरुमा लाग्ने पक्का भइसकेको छ । अष्ट्रेलिया लागि सिनेमा ४५ लाखमा बिक्री भैसकेको छ भने यूरोप राईट १५ लाखमा सम्झौता भएको छ ।