प्रेमगीत ३ निर्देशन गर्दै सन्तोष

काठमाडौं । फिल्म ‘चंखे शंखे पंखे’बाट फिल्म निर्माणम हात हालेका निर्माता सन्तोष सेनले अब फिल्म निर्देशन गर्ने भएका छन् । फिल्म ‘प्रेमगीत २’मा खलपात्रको चरित्रमा अभिनयसमेत गरेका सन्तोष आगामी फिल्म ‘प्रेमगीत ३’मार्फत निर्देशनमा डेब्यू गर्न लागेका हुन् । निर्देशनमा सन्तोषले अर्का निर्देशक छेतेन गुरुङसँग सहकार्य गर्नेछन् ।

निर्देशक सन्तोषले फिल्म ‘प्रेमगीत ३’ आगामी चैत २८ गतेबाट प्रदर्शनमा आउने बताए । ‘फिल्मका लागि लोकेशनदेखि मुख्य टिम पनि फाइनल गरेका छौं । हामी फिल्मबारे विस्तृत रुपमा चाँडै विशेष पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराउनेछौं’, उनले भने, ‘प्रेम गीत–३’लाई विगतमा हामीले निर्माण गरेका फिल्महरुमा जस्तै अझै धेरै मेहनत गरेर ल्याउनेछौ ।’

सन्तोषले होम प्रोडक्सनको व्यानर आशुसेन फिल्मस्मार्फत ‘चंखे शंखे पंखे’, ‘प्रेमगीत’, ‘प्रेमगीत २’, र ‘मेरी मामु’ बनाइसकेका छन् । निर्देशक छेतेनले यसअघि फिल्म ‘डमरुको डण्डीबियो’बाट निर्देशनमा डेब्यू गरेका थिए ।