राता मकैको नाममा राता मकै गेट

काठमाडौं । अभिनेता तथा निर्माता किरण केसीले दर्शकमार्फत पाएको उपनाम ‘राता मकै’को नाममा ललितपुरको इमाडोलमा प्रवेशद्वार निर्माण गरिएको छ । कलाकारितासँगै विभिन्न सामाजिक सेवामा सक्रिय रहँदै आएका किरणले निर्माण गरेको ‘राता मकै गेट’लाई आइतवार ललितपुरस्थित लक्ष्मीनगरपालिका मेयर रामेश्वर श्रेष्ठ र मदनकृष्ण श्रेष्ठ तथा हरिवंश आचार्यले संयुक्त रूपमा उद्घाटन गरे ।

मेयर श्रेष्ठले ललितपुरको इमाडोलमा रहेको रातामकै चोकस्थित रातामकै गेटलाई मेयर श्रेष्ठले उदाहरणीय काम गरेको बताए । ’आफ्नो ठाउलाई आफैले बनाउनु पर्छ’, उनले भने ‘किरणजीको विकास निर्माणको पाटोको सिको अन्य कलाकारले गरे झनै राम्रो हुन्थ्यो ।’ कलाकार मदनकृष्णले किरण निकै फुर्तिलो भएकाले उसले हरेक काम समयमा नै सकाउने गरेको स्मरण गरे ।

कलाकार हरिवंशले किरणले स्थानीय तहमा गरेको समाजसेवा उदाहरणीय रहेको बताए । किरणले विद्यालय भवन र प्रहरी भवन बनाएको स्मरण गर्दै हरिवंशले किरणको काम देशविदेशसँगै स्थानीय तहमा पनि लोकप्रिय रहेको जनाए । किरणले इमाडोलमा मन्दिर, सडक, किरियापुत्री भवन, आमाबुवाको नाममा महेन्द्र आदर्श स्कुलको दुई भवन र इमाडोल प्रहरी भवन निर्माण गरिसकेका छन् ।

किरणले झन्डै १२ वर्ष अगाडि नामांकन भएको राता मकै चोक र त्यहाँको राता मकै मार्गले आफुलाई यो गेट बनाउन प्रेरित गरेको बताए । ‘यहाँ मैले विभिन्न स्थानमा आफुले सक्दो विकास निर्माणमा हातेमालो गरिरहेको छु । त्यसैले पनि यहाँ गेट आवश्यक देखेकोले निर्माण गरेको हुँ’, उनले भने ‘यहाँ राज्यले नै रातामकै मार्ग नामांकन गरिसकेपछि मेरो यो दायित्व पनि हो ।’ उनले झन्डै ६ लाखको लागतमा बुवा दुर्गाबहादुर केसी र आमा इन्द्र कुमारी केसीको सम्झनामा गेट निर्माण गरेको बताए ।