काठमाडौँ । आगामी वैशाख २७ गते शुक्रबारबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘पसिना’ले मजदुर दिवसको अवसरमा बुधबार र्याली गरेको छ । र्यालीमा फिल्मका एक कलाकार जयनन्द लामा मात्र उपस्थित थिए भने बाँकी प्रमुख कलाकार कोही देखिएनन् । फिल्मका निर्देशक आरबी खत्री शरदले मजदुरको कथालाई फिल्मले बोल्ने भएकोले मजदुर दिवसको अवसरमा र्याली निकालेको बताए ।
मजदुरको हक हितको कुरा फिल्मले बोल्ने भएर मजदुर दिवसको दिन भेला भएर र्याली गरेको निर्देशक शरदले बताए । ‘जबसम्म मजदुरको आवाज बुलन्द हुँदैन र उनीहरुको समस्या समाधान हुँदैन । तबसम्म देश समृद्ध बन्न सक्दैन’, निर्देशक खत्रीले भने । फिल्म मे दिवसको दिन नै प्रदर्शन गर्ने योजना रहेको र बिबिध कारणले नमिलेको पनि निर्देशकले बताए ।
मुख्य कलाकार उपस्थित नभए पनि आफुले मेहनत गरेर पसिना बगाएर बनाएको फिल्मको आफैं प्रचार प्रसारमा लागि रहेको निर्माता शान्ता ढकालले बताईन । जयनन्द लामाले सम्पूर्ण कलाकारको प्रतिनिधित्व गरेका थिए । नाम अनुसारको फिल्म बनेको लामाले बताए । आजै चलचित्रको गीत भिडियो पनि सार्बजनिक गरिएको छ । ‘हावा चल्यो सिरिरी’ बोलको सार्बजनिक गीतमा राजनराज शिवाकोटीको शब्द तथा संगीत रहेको छ गीतमा स्वर नारद रिजालको रहेको छ ।
गीतमा फिल्मका कलाकारहरु गौरव पहारी, अनु शाह, सरोज खनाल, सरोज अर्याल, रवि गिरी, धुर्ब कोइराला, शारदा गिरी, सुरजनी केसी लगायतका कलाकारको अभिनय छ ।