असोज पहिलो साता हरिको ‘सरौतो’

काठमाडौं । बदलाको कथामा निर्माण गरिएको फिल्म ‘सरौतो’ आगामी असोज ३ गते रिलिज हुने भएको छ । छायाँकार हरि हुमागाईंको ‘डेब्यू’ निर्देशन रहेको फिल्मको केही समय अघि मात्र छायांकन सकिएको थियो ।

निर्देशक हुमागाईंले प्राविधिकको समय र वितरकसँगको छलफलपछि रिलिज मिति तय गरेको बताए । ‘फिल्मलाई राम्रो बनाउने कोसिस गरेका छौं । लेखिएको कुरा पर्दामा उतार्न चुनौतीसँगै सफल भएको अनुभव गरेका छौं ।’ उनले भने ।

विराञ्जना इन्टरटेनमेन्ट, स्क्वायर वान क्रिएसन, राइजिङ फिल्म्स् एण्ड ग्लिटर फिल्म्स् स्टुडियोको ब्यानरमा निर्माण भएको फिल्ममा सिर्जना जोशी र लक्ष्मीकुमारी तामाङ कार्यकारी निर्माता छन् । फिल्ममा सुमी मोक्तान, सन्नी सिंह, विजय लामा, युवराज लामा, धिरेन शाक्य, आमिर गौतम, अरुणा कार्की, पराकर्म पीजेबी राणा, सम्पदा दाहाल, सुवाङ्गम शाह, लियो ट्यांक, मैषा पुन मगर, प्रतिक दुलाल र मनोज तामाङलगायतको अभिनय रहेको छ ।

फिल्ममा राघव कृष्ण गौतमको लेखन, उत्तम हुमागाईंको छायांकन, शंकर महर्जनको एक्सन, राजनराज शिवाकोटी, पुष्पन प्रधान, कमल खत्री, कोशिस क्षेत्रीको संगीत, निमेष श्रेष्ठको सम्पादन, निलिशा शाक्यको नृत्य छ ।

काठमाडौं, सिम्रौनगठलगायतका स्थानमा छायांकन गरिएको फिल्मलाई उपत्यकामा गोपालकाजी कायस्थ र मोफसलमा एफडी कम्पनीले वितरण गर्नेछ ।