मणिरत्नमको भिलेन ऐश्वर्या

मुम्बई(एजेन्सी) । बलिउडका ‘रावण’, ‘रगासियम’, ‘गुरू’ र ‘इरुवर’ जस्ता फिल्ममा निर्देशक मणिरत्नमसँग काम गरिसकेकी बलिउड अभिनेत्री एकपटक पुनः मणिरत्नकै फिल्म ‘पोन्नीनि सेल्वम’मा देखिँदैछिन् । मणिरत्नमले जहिल्यै पनि ऐश्वर्यालाई आफ्नो फिल्ममा प्रमुख भूमिका दिँदै आएका छन् । तर यसपटक ऐश्वर्या नकारात्मक भूमिकामा देखिँदैछिन् ।

यो फिल्ममा १० औं शताब्दीका चोल राजाको कथा देखाइनेछ । फिल्ममा राजा चोल कसरी सबै कठिनाईको सामना गर्दै सम्राट बन्छन् भन्ने कथालाई प्रस्तुत गरिनेछ । फिल्ममा ऐश्वर्या पेरिया पझुवेत्तारय्यरको पत्नी नन्दिनीको भूमिकामा हुनेछिन् । जसले चोल साम्राज्यको चान्सलर र कोषाध्यक्षको रूपमा काम गरेको हुन्छ ।

नन्दिनी आफैमा धेरै शक्तिशाली रहस्मयी महिला हुन्छिन् । उनी पतिसँग मिलेर राजा चोलको साम्राज्यलाई नष्ट गर्ने योजना बनाउछिन् । उनी राजा चोलको राज्य नष्ट गरेर त्यसको बदला लिन्छिन् । फिल्ममा ऐश्वर्याको पतिको भूमिकामा मोहन बाबुले अभिनय गर्नेछन् ।

ऐश्वर्याले पहिलोपटक नकारात्मक भूमिकामा अभिनय गर्न लागेको भने होइन । उनले यसअघि सन् २००५ मा रिलिज फिल्म ‘खाकी’ र सन् २००६ को फिल्म ‘धूम २’मा नकारात्मक चरित्रमा अभिनय गरेकी थिइन् । ऐश्वर्याले मणिरत्नमको फिल्म ‘इरुवर’बाट फिल्मी करियरको शुरुवात गरेकी थिइन् । फिल्मको छायांकन यो वर्षको अन्त्यमा सुरु हुनेछ ।