सुरबिनासँग रोमान्टिक बुलबुलका चोपेन्द्र

काठमाडौं । नायक मुकुन भुषाललाई उनको वास्तविक नामले चिन्ने कमै होलान् । तर उनी अभिनित फिल्म ‘बुलबुल’ हेर्नुभएको छ भने उनलाई मुकुन भन्दा पनि ‘चोपेन्द्र’का रूपमा धेरैले चिन्छन् । यिनै चोपेन्द्र यतिबेला एक म्युजिक भिडियोमा मोडल तथा नायिका सुरबिना कार्कीसँग रोमान्टिक मुडमा देखिएका छन् ।

गणेश सेन्चुरीको शब्द, संगीत तथा स्वर रहेको गीत ‘लुकीछिपी किन मायामा’ बोलको गीतमा मुकुन उर्फ ‘चोपेन्द्र’को अव्यक्त प्रेमभाव देख्न सकिन्छ । भिडियो निर्देशक नविन चौहानले सामान्य प्रस्तुतिमा निकै राम्रो भिडियो बनाएका छन् । गाउँले परिवेशमा तयार पारिएको भिडियोले हिमाली जनजीवनलाई देखाएको छ ।

भिडियोमा मुकुन र सुरबिनासँगै मनिष तामाङ तथा अनु काफ्ले फिचर्ड छन् । भिडियोमा निशल पौडेलको छायांकन, भीम विश्वकर्माको सम्पादन छ ।

गीतमा कोबिद बज्रको म्युजिक एरेन्ज, मिक्सिङ र मास्टरिङ छ भने सार्दुल श्रेष्ठको साउन्ड इन्जिनियरिङको काम गरेका छन् । भिडियोमा संजीब रत्न शाक्यले रंग संयोजन गरेका छन् । भिडियोलाई आर्टमान्टु नेपालले निर्माण गरेको हो ।