हङकङमा च च हुई खेल्दै आर्यन र भोला

काठमाडौं । डेब्यु फिल्म ‘लेटर’ मार्फत नै दर्शक माँझ नोटिस भएका निर्देशक साम्तेन भुटियाको निर्देशनमा तयार भइरहेको पछिल्लो फिल्म ’च च हुई’ को छायाँकन गत साता देखि हङकङमा भईरहेको छ । एक साताको सेड्युल लिएर गत शुक्रबार त्यसतर्फ टोलि प्रस्थान गरेको थियो । तान्द्रो ,अनागत , सुस्केरा र साढे सात निर्देशन गरिसकेका साम्तेन यसपटक कमर्सियल फिल्म निर्देशन गरिरहेका छन् ।

हरेक फिल्ममा कथावस्तु फरक भएता पनि उनले उस्तै प्रकृतिको फिल्म निर्देशन गरिरहेको आरोप उनलाई यदाकदा लाग्ने गरेको थियो , त्यसैले पनि उनले यसपटक भिन्न किसिमकै फिल्म निर्देशन गरिरगेका छन् । नर्थ पोइन्ट , जोर्डन , गार्डेन हिल लगायतका रमणीय स्थानमा फिल्मको छायाँकन भइरहेको छ ।

फिल्मको छायाँकनको लागि अभिनेता आर्यन सिग्देल , माओत्से गुरुङ र भोला राज सापकोटासँगै छायाँकार सुशन प्रजापति , निर्देशक साम्तेन भुटिया , निर्माता अमृत घोले लामा लगायत हङकङमा छन् । त्यहाँ आर्यन र भोलाको विभिन्न दृश्यको छायाँकन भइरहेको छ ।

पुस्कर गुरुङ , मिरुना मगर , बबिता मल्ल लगायतको अभिनय रहेको फिल्मको हिमाली भेगमा शुटिङ सकिएपछी यतिबेला टिम हङकङ पुगेको हो । त्यसपछि नेपाल आएर फिल्मको गीतको छायाँकन गर्ने निर्माता अमृत घोले लामाले बताए ।

एजीएल इन्टरटेनमेन्टको ब्यानरमा निर्मित यो कमेडी जनरको फिल्म हो भने यसलाई सिजन दाहाल र संदेश अर्यालले लेखेका हुन् । फिल्ममा पछिल्लो समयका चर्चित संगीतकार राजनराज शिवाकोटी र रोशन थापाको संगीत रहेको छ । रोशनको संगीत रहेका गीतहरुमा लुटको उध्रेको चोली र जात्राको नोट नोटले चर्चा पाएका थिए ।