मुम्बई(एजेन्सी) । बलिउड अभिनेता सलमान खान र अभिनेत्री कटरीना कैफ अभिनित फिल्म ‘भारत’ रिलिज हुन अब एक हप्ता मात्र बाँकी छ । फिल्म रिलिज मिति नजिकिएपछि दुवै कलाकार विभिन्न स्थानमा पुगेर फिल्मको प्रचारमा व्यस्त छन् । फिल्मको प्रोमोलाई दर्शकले रुचाए पछि व्यापार विश्लेषकहरुले यो फिल्मलाई ब्लकब्लस्टर घोषणा गरिसकेका छन् । फिल्म रिलिज हुनासाथ यसले जोडतोडका साथ कमाई गर्ने र सलमानको पुरानो रेकर्डलाई पनि तोड्ने अनुमान गरिएको छ ।
फिल्मको व्यापारको विश्लेषण भइरहँदा फिल्मले पर्दा चाहिँ कति पाउला भन्ने चासो पनि व्याप्त छ । यो फिल्म अघि सलमानकै फिल्म ‘टाइगर जिन्दा हे’ले सर्वाधिक स्क्रिन पाएको थियो । यो फिल्मले अघिल्लो फिल्मको रेकर्डलाई तोड्छ या तोड्दैन भन्ने चासो छ । सलमान र कटरीना अभिनित फिल्म ‘टाइगर जिन्दा हे’ ले ४६ सय स्क्रिन पाएको थियो । जुन फिल्म सलमानको हालसम्मकै सर्वाधिक स्क्रिन पाउने फिल्म थियो ।
सलमानको फिल्म ‘भारत’ अघि कुनै पनि ठूलो फिल्म रिलिज नभएकाले फिल्म वितरकले सलमानको फिल्मलाई विशेष प्राथमिकतामा राखेका छन् । गत वर्षको अन्त्यतिर रिलिज भएको अमिताभ बच्चन र आमिर खान स्टारर फिल्म ‘ठग्स अफ हिन्दोस्तान’ले ५ हजार स्क्रिनमा रिलिजको मौका पाएको थियो ।
फिल्म ‘भारत’ को कथा एक कोरियन फिल्म ‘ओड टू माई फादर’बाट प्रेरित छ । फिल्ममा अलि अब्बास जफरको निर्देशन छ । यसअिघ सलमानका फिल्महरु ‘बजरंगी भाइजान’ ४५ सय पर्दामा, ‘प्रेम रतन धन पायो’ ४५ सय पर्दामा, ‘रेस ३’ ४४ सय पर्दामा, ‘सुल्तान’ ४३ सय ५० पर्दामा रिलिज भएका थिए ।