भारतले तोड्ला एभेन्जर्स इन्डगेमको रेकर्ड ?

मुम्बई(एजेन्सी) । सफलताको जगमा उभिइरहेका बलिउड अभिनेता सलमान खानको अर्को एक नयाँ फिल्म ‘भारत’ रिलिजको संघारमा छ । उनको यो बहुप्रतिक्षित फिल्म बुधबारबाट रिलिज हुँदैछ । कोरियन फिल्म ‘ओड टू माई फादर’बाट इन्स्पायर फिल्म ‘भारत’मा पुनः एकपट सलमान र कटरिना कैफको जोडी बनेको छ । अलि अब्बास जफरको निर्देशन रहेको फिल्म सन् २०१९ कै सर्वाधिक सफल र ठूलो फिल्म हुने अनुमान गरिएको छ ।

व्यापार विश्लेषकले फिल्मले पहिलो दिन ४५ करोडको व्यापार गर्ने अनुमान लगाएका छन् । फिल्मले पहिलो हप्तामा कमाईको नयाँ रेकर्ड बनाउन सक्ने जनाएका छन् । फिल्म बुधबार इदको अवसरमा रिलिज हुने भएपछि फिल्मले बक्स अफिसमा पाँच दिनको लामो विकेन्ड पाउनेछ ।

फिल्मको एडभान्स बुकिङको ठूलो रेकर्ड पनि आइरहेको छ । भारतको नासिकमा दबंग खानका एक फेयानले पहिलो दिनको पहिलो शोको लागि पुरा थिएटर नै बुक गरेका छन् । इद रिलिज र होलिडे फ्याक्टरले पनि यो फिल्मका लागि डबल बोनस हुने निश्चित छ ।

फिल्मका फ्यानले फिल्मले हलिउड फिल्म ‘एभेन्जर्स एन्डगेम’को ओपनिङ डेको रेकर्ड तोड्ने अनुमान लगाएका छन् । यो वर्ष सर्वाधिक कमाई गर्ने रेकर्डमा फिल्म ‘एभेन्जर्स इन्डगेम’ रहेको छ । यो हलिउड फिल्मले भारतमा पहिलो दिन ५३ दशमलब १० करोडको कमाई गरेको थियो । यो फिल्मले आमिर खानको फिल्म ‘ठग्स अफ हिन्दुस्तान’को सर्वाधिक ओपिनङको रेकर्डलाई तोडेको थियो । आमिरको फिल्मले पहिलो दिन ५२ दशमलब २५ करोड कमाएको थियो ।