जन्मदिनमा खुलेकी जायरा नम्रता

काठमाडौं । नायिका नम्रता श्रेष्ठले शुक्रबारबाट ३३ वर्षको उमेरमा प्रवेश गरेसँगै आगामी भदौ ६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘जाइरा’को दुई पोस्टर सार्वजनिक गरेकी छन् । शुक्रबारबाट ३३ वर्षमा प्रवेश गरेकी नम्रताले फिल्ममा मिक्स मार्शल आर्ट खेलाडीको भूमिका निभाएकी छन् । यसमा उनको होम प्रोडक्सन कम्पनीले पनि निर्माण सहकार्य गरेको छ ।

पोस्टरमा मुख्यतः उनलाई नै प्रमूख स्थान दिईएको छ । चलचित्रको मुल कथा नै उनको वरिपरि घुमेकाले निर्माण टिमले फिल्मको प्रचार सामाग्रीमा उनलाई नै विशेष स्थान दिँदै आएको छ । सार्वजनिक पोस्टरमा नम्रतालाई मिक्स मार्शल आर्ट खेलाडीको लुक्समा देख्न सकिन्छ । ’जाइरा’का निर्देशक आशुतोष राज श्रेष्ठ हुन् ।

‘लभर गर्ल’ को भूमिकामा निकै रुचाइएकी नम्रताले ‘जाइरा’ आफ्नो लागि विशेष रहेको बताइन् । जन्मदिनको केक काट्दै उनले भनिन, ‘यो फिल्मको स्क्रिप्टमा आशुतोषले निकै वर्क गरेको छ । स्क्रिप्टमा मात्र उसले तीन बर्ष खर्चेको छ । उसको मेहनत, लगाव र उसप्रति मलाई विश्वास भएर नै ‘जाइरा’ गरेकी हुँ ।’ त्यहि सन्दर्भमा उनले आफूले हरेक चलचित्रमा निभाएको क्यारेक्टर आफुलाई चुनौतीपूर्ण लाग्ने पनि बताइन् ।

हरेक प्रकृतीका क्यारेक्टरलाई उत्तिकै महत्त्व दिने उनको भनाई छ । उनी भन्छिन्, ‘मैले मेरो क्यारेक्टरलाई शतप्रतिशत दिन सकिन भने दर्शकलाई सजिलै थाहा हुन्छ । दर्शकलाई झुक्याउन सकिन्न । त्यसैले म हरेक क्यारेक्टरलाई शतप्रतिशत दिने प्रयास गर्छु । मलाई हरेक क्यारेक्टर चुनौतीपूर्ण र हरेक फिल्म ड्रिम प्रोजेक्ट लाग्छ ।’ उनले ‘जाइरा’ बाट आफूले लभर गर्लको छवि मेट्ने प्रयास गरेको पनि बताइन् ।

सम्झनलायक चलचित्र दिएकी नम्रता अभिनीत पछिल्लो चलचित्र ’प्रसाद’ गत वर्ष प्रदर्शनमा आएको थियो । यस चलचित्रमा नम्रताको अभिनयको मुक्तकण्ठले प्रशंसा भएको थियो । हरेक फिल्ममा अभिनयमा विविधता पस्किरहेकी नम्रता पहिलो पटक ‘जाइरा’ मार्फत एक्सन अवतारमा प्रस्तुत हुन लागेकी हुन् । चलचित्रमा अनुप बिक्रम शाही, प्रमोद अग्रहरी, रेमन दास श्रेष्ठसहित नव(कलाकारहरु श्रृजना रेग्मी, सुजिता श्रेष्ठ र सम्राट मगरको पनि मूख्य अभिनय छ ।

’जाइरा’का पटकथाकार निर्देशक श्रेष्ठ र निरोज महर्जन हुन् । यो चलचित्र कटामरी फिल्म्सको सहकार्यमा नम्रता श्रेष्ठ प्रोडक्शन र ट्रेन्डसेटर्स प्रा.लि.को प्रस्तुतीमा बनेको हो । प्रसन्न गोपाली कार्यकारी निर्माता रहेको ’जाईरा’लाई लोकेश बज्राचार्यले सम्पादन गरेका छन् ।

कल्याण सिंह, डिजे राजु र टम्ब्लीविडको संगीत रहेको यो फिल्ममा सम्राट बस्नेतको द्वन्द्व निर्देशन रहेको छ भने द्वन्द्व कोरियोग्राफी राउल मोक्तान र मेघवार चेम्जोङको छ । यस चलचित्रमा केशव थापाको नृत्य निर्देशन छ भने डि.ओ.पी. बाबु श्रेष्ठको रहेको छ । ’जाइरा’को प्रमोशन ब्यवस्थापक सुम्निमा देवान हुन् ।