मायाको खेलमा आयुषलाई प्रियंकाको आँसुको भेल

काठमाडौं । रियल लाइफमा आयुष्मानको इंगेजमेन्ट औंठी लाइसकेकी अभिनेत्री प्रियंका कार्कीले रिल लाइफमा भने धोका दिएकी छन् । गायक मोहन राईको बुधबार रिलिज गीत ‘मायाको खेल, आँसुको भेल…’ को म्युजिक भिडियोमा प्रियंका र आयुष्मानबीचको विछोड देखाइएको छ । दिपेन्दनाथ शर्माको शब्द र कन्काइस्ट राईको संगीत रहेको यो नेपाली आधुनिक गीतमा युवाहरुबीचको प्रेमपीडा प्रस्तुत गरिएको छ, जसमा निर्देशक राजेन्द्र महर्जनले प्रियंका र आयुष्मानबीचको प्रेमकथा बुनेका छन् ।

बाटोमा लिफ्ट माग्ने क्रममा भेटिएकी प्रियंकालाई आयुष्मानले एकतर्फी माया गर्छ । पेसाले चित्रकार यिनले प्रियंकाको पेपर र पेन्सिल माध्यमबाट मुहारचित्र उतार्नेदेखि डान्स बारको नृत्यांगनासम्ममा प्रियंकाकै अनुहार देख्न थाल्छ । जब आयुष्मानले प्रेम प्रस्ताव राख्छन्, प्रियंका बिच्किन्छिन् । यसपछि आयुष्मानले प्रियंकाको तस्बिर जलाउ“छन् । थुप्रै छोटो फिल्म निर्देशक गरिसकेका र थुप्रै फिल्ममा मुख्य सहायक निर्देशनको भूमिका गरिसकेका महर्जनले म्युजिक भिडियोलाई कथानक रूपमा ढालेका छन् । पात्रहरुको बीचको तनाव सिर्जना गर्न उनी सफल छन् । म्युजिक भिडियो हेरिरहँदा पनि लघु फिल्मको झल्को मिल्छ ।

गीतको भावअनुसार नै नृत्यभन्दा कथा हाबी गराएको गायक राईले बताए । राईको एल्बम ‘मायाको खेल’ मा भने आठवटा गीत समेटिएका छन् । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको राष्ट्रिय भावको गीत ‘हिमालको पाखाभरि’ देखि व्याकुल माइला, दिनेश थपलिया, नवराज सिलवाल, राजा घले, मनु लोहारुङ राई, मुकेश राईसम्मका गीत छन् । संगीत शिखर सन्तोष, दिनेश सुब्बा, राजनराज शिवाकोटी र कृष्णभक्त राईले दिएका छन् ।