असार अन्तिममा पुग्यो सानो मन

काठमाडौं । आगामी असार २० गतेलाई रिलिज मिति तोकिएको फिल्म ‘सानो मन’ असार २७ मा रिलिज हुने भएको छ । फिल्मका निर्माता राजेन्द्र मानन्धरले फिल्मलाई अझ राम्रो बनाएर दर्शकमाझ ल्याउन एक साता पछि रिलिज सारिएको बताए । ‘प्राविधिक पाटोमा काम गर्न समय अपुग भएकोले रिलीज मिति सारिएको हो,’ निर्माता मानन्धरले भने, ‘हतारमा नराम्रो फिल्म रिलिज गर्नुभन्दा प्राविधिक सुधार गरी एक हप्ता ढिलो ल्याउन लागेका हौं । यसलाई दर्शकलाई बुझिदिनु हुनेछ भन्ने विश्वास हामीले लिएका छौं ।’

फिल्ममा आयुष्मान देसराज जोशी, शिल्पा मास्के, सक्षम सुवेदी, गौरी मल्ल, विशाल पहारी, शिशिर वाङ्देल, रश्मी भट्टलगायतका कलाकारहरूको अभिनय रहेको छ । सांगीतिक प्रेम कथामा आधारित यो फिल्मलाई सुयोग गुरुङले निर्देशन गरेका हुन् । यो उनको डेब्यू निर्देशनमा निर्माण भएको चलचित्र हो ।

सुयोग गुरुङ र मिलन श्रेष्ठको सम्पादन रहेको यो चलचित्रकोे भिएफएक्स नगेश कँडेलले गरेका छन् । समिर सुनवार र निर्देशक गुरुङको संयुक्त लेखन रहेको यस चलचित्रलाई आलोक शुक्लाले छायांकन गरेका छन् । ओ.पि.जी फिल्मस्, ए प्लस इन्टरटेन्मेन्ट र हाई टेक इन्टरटेन्मेन्टको सानो मनलाई संयुक्त ब्यानरमा निर्माण गरेको हो ।  काठमाडौं, भैरहवा, बैंकक लगायतका ठाउँहरुमा छायांकन भएको यस चलचित्रका निर्माताहरू योगेश गुरुङ, राजीव श्रेष्ठ, रमेश के. मित्तल र राजेन्द्र मानन्धर हुन् ।