मोफसलमा दौडाहामा सानो मन

काठमाडौं । असार २७ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘सानो मन’ युनिट यतिबेला फिल्मको प्रचारप्रसारका लागि मोफसल यात्रामा निस्किएको छ । फिल्म युनिटले शुक्रबार चितवनका पत्रकारबिच एक कार्यक्रम आयोजना गरेर फिल्मको बारेमा जानकारी दिएको छ ।

फिल्मकी मुख्य नायिका शिल्पा मास्के, कलाकार सक्षमकृष्ण सुवेदी र निर्माता राजेन्द्र मानन्धरलगायतको उपस्थितिमा फिल्मको बारेमा जानकारी दिएको थियो । नायिका मास्केले फिल्ममा आफुले निकै मेहनत गरेको र फिल्म दर्शकलाई मनपर्ने बताइन् । उनले आफु लण्डन बसेर विदेशी फिल्ममा समेत काम गरेको अनुभव सुनाउदै नेपालमा नै केहि गर्छु भनेर नेपाल आएर नेपाली फिल्ममा अभिनय गरेको जनाइन् ।

नवनायक सक्षमकृष्ण सुवेदीले आफ्नो पहिलो फिल्म भए पनि निकै मेहनत गरेको र यस फिल्मबाट ठुलो आशा लिएको बताए । निर्माता मानन्धरले फिल्मको कथा नै मन परेर यस फिल्म निर्माण गरेको बताए । उनले फिल्मका अभिनेता आयुष्मान देशराज जोशी पनि मोफसल यात्रामा आउने जानकारी दिए पनि अन्तिम अवस्थामा आफुलाई सन्चो नभएको बताएको खुलाए । चितवनमा पत्रकार भेटघाट सकिएलगतै फिल्म युनिट पोखरातिर लागेका छन् ।

सुयोग गुरुङको निर्देशनमा निर्माण भएको फिल्ममा आयुष्मान देशराज जोशी, शिल्पा मास्के, विशाल पहाडी, गौरी मल्ल, रश्मी भट्ट, शिशिर वाङ्देल, सक्षककृष्ण सुवेदी, कृष्णभक्त महर्जन, लक्ष्मी भुषाल लगायतका कलाकारको अभिनय रहेको छ ।

ओपिजी फिल्मस, ए प्लस इन्टरटेन्मेन्ट र हाई टेक इन्टरटेन्मेन्टको संयुक्त ब्यानरमा निर्माण भएको फिल्ममा सुयोग गुरुङ र मिलन श्रेष्ठको सम्पादन छ । फिल्ममा योगेश गुरुङ, राजीव श्रेष्ठ, रमेश के. मित्तल र राजेन्द्र मानन्धरको लगानी छ ।