आयुष्मानको सेल्फीसँगै रानु कम्मर

काठमाडौं । आगामी असार २७ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘सानो मन’ले राजधानीको सिभिल मलमा प्रमोसनल कन्सर्ट गरेको छ । कन्सर्टमा अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री शिल्पा मास्के प्रमुख आकर्षण बने । कार्यक्रममा कलाकार सक्षम सुवेदी, निर्देशक सुयोग गुरुङ पनि उपस्थित थिए ।

आयुष्मानलाई भेट्न चाहने युवतीहरुको भीड कार्यक्रममा बाक्लै देखिन्थ्यो । उनले आफ्ना क्रेजी फ्यानसँँग सेल्फी खिच्दै फिल्मको गीत ‘रानु कम्मर’ मा नृत्य गरे । आयुष्मानलाई शिल्पा र सक्षमले पनि साथ दिए ।  आयुष्मानले शिल्पा र सक्षमलाई दर्शकमाझ चिनाउँदै फिल्ममा निभाएको भूमिकाबारे जानकारी गराए । फिल्ममा नेगेटिभ रोलमा रहेका सक्षमले आफ्नो डेब्यू फिल्म भए पनि राम्रो गर्ने कोशिश गरेको बताए । कार्यक्रममा गायक रोहितले फिल्मको शिर्ष गीत गाएर सुनाएका थिए ।

निर्देशक गुरुङले ‘सानो मन’ को विषयमा अनविज्ञ दर्शकलाई जानकारी दिने उद्देश्यले प्रोमोसनल कन्सर्टको आयोजना गरेको बताए । राजधानीका केएल टावर, विजी मल, लबिम मल, सिटी सेन्टरमा पनि फिल्मको जानकारी गराउन सांगीतिक कन्सर्ट गरिने उनको भनाई छ । यो फिल्ममा गौरी मल्ल, विशाल पहारी, शिशिर वाङदेल, रश्मी भट्ट, देव कुमार श्रेष्ठ लगायतका कलाकारहरुको पनि अभिनय छ ।

ओ.पि.जी फिल्मस्, ए प्लस इन्टरटेन्मेन्ट र हाई टेक इन्टरटेन्मेन्टको संयुक्त ब्यानरमा यो चलचित्र निर्माण भएको हो । सुयोग गुरुङ र मिलन श्रेष्ठले मिलेर फिल्मको सम्पादन गरेका छन् । समिर सुनवार र निर्देशक गुरुङको संयुक्त लेखन रहेको ‘सानो मन’ लाई आलोक शुक्लले छायांकन गरेका छन् । यस फिल्मका निर्माताहरू योगेश गुरुङ, राजीव श्रेष्ठ, रमेश के. मित्तल र राजेन्द्र मानन्धर हुन् ।